Logo

अक्षता राष्ट्रिय दैनिकले मनायो वार्षिकोत्सव



रामेछाप – रामेछापबाट प्रकाशित हुँदै आएको अक्षता राष्ट्रिय दैनिक पत्रिकाले दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गरेको छ
दैनिकले शनिवार वार्षिकोत्सवको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । अक्षता राष्ट्रिय दैनिकले सफलतापूर्वक दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा रामेछाप जिल्लामा विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा शुभजीवन अस्पताल खुर्कोटका डा. राजन न्यौपाने, मन्थली नगरपालिका–४ का वडाध्यक्ष राजनप्रसाद घिमिरे, शारदा माध्यमिक विद्यालय गेलुका शिक्षक किशोर थापा, मन्थली अस्पतालका स्वास्थ्यकर्मी समीता रिमाल, अरनिको यातायात सेवा समितिका जिल्ला इञ्चार्ज सुवाश फुयाल, निर्माण व्यवसायी खुसहरी बुढाथोकी, कृषक भोजराज खड्का, व्यवसायी कमल साह, मन्थली नगरपालिकाका कर्मचारी रविन्द्र हायु, ट्राफिक प्रहरी जवान ललित खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार जनकबहादुर तामाङ, रेडियो पत्रकार डोरशंकर बरुवाल, अक्षता दैनिकका पूर्व कर्मचारी कुशुम मवतलीलाई सम्मान गरिएको उक्त पत्रिकाका प्रकाशक/सम्पादक नवीन घिमिरेले जानकारी दिए । प्रकाशक घिमिरेले भने आफ्नो क्षेत्रमा निरन्तर लामो समयदेखि उल्लेखनीय कार्य गरेकोमा उहाँको लगनशीलताको उच्च मूल्याङ्क गर्दै सम्मान गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले स्थानीय मिडियाहरुसँग समन्वय र सहकार्य गर्दै आएको भन्दै नगरपालिका स्थानीय मिडियाप्रति सकरात्मक रहेको बताए । समाजले अहिलेसम्म पनि नदेखेका व्यक्तिहरुलाई पहिचान गरेर सम्मान गरेकोमा खुसी समेत व्यक्त गरेका थिए । नगरप्रमुख श्रेष्ठले सञ्चार क्षेत्रको विकासका लागि स्थानीय सरकार सधै सकारात्मक रहँदै आएको बताए । सञ्चार क्षेत्रले समाजमा भएका कुराहरु राम्रा र नराम्रा दुवै पक्षको उजागरा गर्न आग्रह गर्दै कसैलाई होच्याउने र नभएका कुरा समाचार बनाउने काम नगरिदिन आग्रह समेत गरे ।


कार्यक्रममा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार थापामगर, नेपाल पत्रकार महासङ्घ रामेछापका निवर्तमान जिल्ला अध्यक्ष बद्री नयाँघरे, जिल्ला सचिव नबराज श्रेष्ठ, प्रेस यूनियनका जिल्ला सचिव सागर बोहरा, प्रेस चौतारीका सचिव डोरशंकर बरुवाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष कैलाश खत्री लगायतले वर्तमान अवस्थामा अक्षता राष्ट्रिय दैनिकले निभाएको भूमिका र सञ्चार क्षेत्रले भोग्नु परेका समस्याका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्