
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो ।
काङ्ग्रेस पार्टीले राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेपनि राज्यमन्त्री तामाङले राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेको बताइएको छ । नेपाली काङ्ग्रेस रामेछापका पार्टी सभापति समेत रहेका कान्छाराम तामाङले नेपाल विद्युत् प्राधिकरणका निवर्तनमा कार्यकारी निर्देशक कुलमान सिघिङ्को पक्षमा बालेको भन्दै राजीनामा दिन दावाव आएको थियो । आफ्नो मन्त्री पद गएपनि साँचो बन्न नछोड्ने बताउँदै आएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् । तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका थिए ।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।
तामाङकाअनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए । दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको आग्रहअनुसार बुधवार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए । उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए । तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका हुन् ।
राज्यमन्त्री तामाङले भने,‘मलाई राजीनामा गर्न गृहमन्त्रीले भन्नु भएको थियो,’ मैले राजीनामा गर्दिन, किन गर्ने भनेको थिएँ । तर, एकाएक पदबाट हटाएको जानकारी आयो ।’
उनले राज्यमन्त्री प्रधानमन्त्रीले बनाएको नभई पार्टीले बनाएको बताए । तामाङले प्रधानमन्त्रीले हटाउने र राजीनामा दिनेभन्दा पनि पार्टीले फिर्ता बोलाउनु पर्ने उल्लेख गरे । उनले पार्टीको सिफारिसमा राज्यमन्त्री भएकाले प्रधानमन्त्रीले हटाए पनि अदालत जाँदा पनि मुद्दा जित्ने दाबी गरे । प्रधानमन्त्रीले बर्खास्त गर्न नहुने बताए ।
उनले भने, ‘बर्खास्त भए पनि चिन्ता छैन । एक पटक मन्त्री भइहाले । अनुभव भयो । नेपालमा सबैभन्दा बढी मत ल्याउने चार नम्बरको सांसद हो । कसैले टिका लगाएर दिएको होइन । जनताको मन जितेर आएको हो । मन्त्री पद आजीवन होइन क्षणिक हो ।’
उनले परराष्ट्र मन्त्री आरजु राणा थाइल्याण्ड जाँदा विमानस्थलमा प्रधानमन्त्री तपाईँसँग रिसाएको भन्दै एक पटक भेट गर्न आग्रह गरेको बताए । तर आफूले प्रधानमन्त्रीसँग भेट नगरेको उल्लेख गरे । तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए ।