रामेछाप- बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले खाँडादेवी मन्दिरको प्राङ्गणमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चिकित्सालयले खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिर प्राङ्गणमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
उक्त शिविरमा सुगर, उच्च रक्तचापलगायत विभिन्न रोगको परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।
कार्कीकाअनुसार स्वास्थ्य परीक्षणसँगै नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका २३ थरी औषधीहरू वितरण गरिएको र बिरामीलाई आवश्यक परामर्श पनि दिइएको छ । परीक्षणका क्रममा धेरैमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको उनले बताए । त्यसैगरी ग्यास्ट्रिक, हाड–जोर्नी दुखाइ, शरीर झमझमाउने र छालासम्बन्धी रोगका बिरामी पनि आएका थिए ।
शिविरमा ७० जनाभन्दा बढीले स्वास्थ्य परीक्षणसहित औषधी सेवा पाएका थिए । नागरिकलाई गाउँमै स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले यस्ता स्वास्थ्य शिविर नियमित रूपमा विभिन्न स्थानमा सञ्चालन गरिने कार्कीले बताए ।
नागरिकलाई सेवा दिन र आयुर्वेदिक उपचार पद्धतिको प्रचार गर्न शिवर आयोजना गरिएका चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समिमतिका अध्यक्ष नवराज पथिकले बताए । यस्ता शिवर जिल्ला भरि नै सञ्चालन गरेर यो उपचार पद्धतिको प्रचार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले चिकित्सालयसँग सहकार्य गरी दर्शनार्थीहरुको भिड हुने सिजनमा पुनः शिविर आयोजना गरिने बताएका छन् ।
