
रामेछाप- सङ्घीय संसदका सभामुख देवराज घिमिरेले रामेछापको खाँडादेवी मन्दिरलाई कोलापत्रे सडकले जोड्न सके यस मन्दिरको महत्व अझ बढ्ने बताए ।
मन्दिरसम्म आउँने मुख्य सडकलाई कालोपत्रे गर्ने र मन्दिरको चारैदिशाका सडकलाई स्तरोन्नती गरी भक्तजनलाई मन्दिरसम्म आउन सहज यातायातको व्यवस्था गर्न सके मन्दिरको महत्व अझ धेरै बढ्ने सभामुख घिमिरेको भनाइ छ । खाँडादेवी मन्दिरको विकासका लागि जिल्लाका जनप्रतिनिधहरु मार्फत यहाँका स्थानीयहरुले पहल प्रयास गर्नुपर्ने बताए । स्थानीयको सक्रिय गतिविधिहरुबाट मात्रै खाँडादेवी मन्दिरको विकास, समृद्धि र इतिहास रहन सम्भव हुने सभामुख घिमिरेको भनाइ थियो ।
सभामुख घिमिरेले भने– ताप्लेजुङ्ग जस्तो विकट ठाउँमा यातायात पुगेर पाथीभरा मन्दिरमा दैनिक लाखौँ भक्तजनले दर्शन गर्दै आएका छन् भने रामेछाप राजधानीको नजिकै भएर पनि खाँडादेवी मन्दिर पछि परेको थियो ।
देश सङ्घीयतामा जानु अघि खाँडादेवी मन्दिरमा दरबारले भेटी पठाउँने र दरबारले नै पूजाआजा गाउने र कर्मचारी नियुक्त गर्ने गर्दथ्यो तर देश सङ्घीय प्रणालीमा गएसँगै खाँडादेवी मन्दिरको व्यवस्थापन र विकासको जिम्मेवारी पनि स्थानीय सरकार र प्रदेश सरकारको दायित्वमा आएको छ, सभामुख घिमिरेले भने ।
खाँडादेवी विकास कोषको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्न नेपाली सेनाको हेलीकप्टर मार्फत रामेछापको खाँडादेवी गाउँपालिकास्थित खाँडादेवी मन्दिर आएका सभामुख घिमिरेले यस्तो बताएका हुन् । वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्दिरमा सङ्कलन हुने भेटीलाई पारदर्शी बनाउन पनि सभामुख घिमिरेले सुझाव दिएका छन् ।
सभामुख घिमिरेले धार्मिकस्थलमा आर्थिक पारदर्शीताको प्रश्न उठ्नु राम्रो नहुँने भन्दै १२ औँ वार्षिक साधारण सभाबाट मन्दिरको आर्थिक हिसाब किताबलाई पारदर्शीता कायम गर्न पनि आग्रह गरे ।
खाँडोदवी मन्दिरको दर्शन गर्दै सभामुख घिमिरेले खाँडादेवी मन्दिरको शक्तिले आगामी दिनमा संसद प्रभावकारी रुपमा सञ्चालन हुने र सरकारले आवश्यक ऐन कानुनहरु निर्माण गरी, कार्यानन्वयन गर्ने तथा देश र जनताको हितमा काम गर्न सरकारलाई प्रेरणा मिल्ने आफूले अनुभूति गरेको बताए ।
खाँडादेवी मन्दिरको इतिहासलाई प्रचारप्रसार गर्न सके यस ठाउँमा धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न सकिने सभामुख घिमिरेको भनाइ छ । खाँडादेवी मन्दिरको विकास र समृद्धिको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पनि पहल गर्ने सभामुख घिमिरेले बताएका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुमको फेदीमा विश्वामित्र गुफासँगैको सुनकोसी नदीमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बध गरी सोही ठाउँमा खुँडा पखाली खुँडा स्थापना गरेको ठाउँलाई खाँडादेवी भनिएको धर्मशास्त्रीहरुको भनाइ छ । देवीले राक्षसहरुको बध गरी सोही ठाउँमा खुँडा पखालेको र खाँडादेवीमा पुगेर खुँडा गाडी दोलखाको कालिन्चोकमा गएर दुर्गा भगवती अन्तरध्यान भएको कुरा शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रीहरु बताउँछन् । विश्वामित्र गुफासँगैको सुनकोसी नदी किनारमा दुर्गा भगवतीले सुन्डमुसुन्ड राक्षसको बद गरेको हुनाले यस ठाउँलाई दुर्गा आर्यघाट समेत भनिन्छ । यही सुनकोसी किनार नै मुख्य दुर्गा आर्यघाट भएको समेत धार्मशास्त्रीहरुको भनाइ छ ।
खाँडादेवी विकास कोषको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहमा सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बामगती प्रदेश सभा सदस्य युवराज चौलागाई, आनन्दकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले लगायतको उपस्थित रहेको थियो ।