Logo

तामाकोसीमा रोमाञ्चकारी र्याफ्टिङ यात्रा



रामेछाप- पश्चिमतिर ढल्केको घामको छाँया तामाकोसीको निलो पानीमा टल्केको बेला बिहिवार अपरान्ह तामाकोसीमा रातो रङ्गको र्याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झन्डै एक घण्टा रोमाञ्चक यात्रा गरे ।

मन्थली नगरपालिका–११ को पन्थली र लिखु तामाकोसी गाउँपालिका–७ को तिल्पुङ्ग हलेदेकोबिच तामाकोसी नदीबाट हेलिएका उनीहरु एकैछिनमा यात्राभरकै रोमाञ्चकारी क्षणमा पुगे । हलेदेभन्दा केही तल तामाकोसीको पानी सानो चेपबाट निकै ओरालिएर बग्छ । त्यही ठाउँमा पुगेपछि र्याफ्टिङ उफ्रियो र यात्रामा रहेका सबैलाई पानीले निथु्रक्क भिजायो । माघको चिसोमा र्याफ्टिङ माथिका यात्रु भिजे पनि त्यस क्षणको रोमाञ्चकारी यात्रालाई निरन्तरतानै दिए ।

केही स्थानमा जमेको पानीमा र्याफ्टिङ तैरियो । यात्रुहरुले एक अर्कालाई पानी छेप्दै रमाइलो गरे । चालकले सुस्तरी अघि बढाएको र्याफ्टिङ कठजोरखोला दोभान, बान्द्रे, सोती, करमबोट, डुम्रे र आकासे पुगेर अडियो । बिच बिचमा कतै निकै चाँडो, कतै सुस्तरी र कतै ढुङ्गा छल्दै अघि बढेको र्याफ्टिङमा रहेका यात्रुहरुले मोवाइलबाट फोटो र भिडियो कैद गरेर यात्रालाई थप रोमाञ्चित बनाए । ‘यात्रा साँच्चै रोमाञ्चकारी भयो’ र्याफ्टिङमा दोस्रो पटक यात्रा गरेका बिमल पौडेलले भने – साहसिक उक्त यात्रालाई सम्बन्धित निकायले निरन्तरता दिनुपर्छ । जलयात्रामा सहभागि केही पहिलो पटक र्याफ्टिङ चढदै थिए । सुरुमा केही डर भएपनि यात्रा अवधि रमाइलो र बिर्सन नसकिने भएको यात्रुहरुले बताए ।

रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको “रामेछाप कृषि पर्यटन मेला प्रदर्शनी २०८१” को अवसरमा व्यवसायीहरुले उक्त र्याफ्टिङ सञ्चालन गरेका हुन् । व्यवसायी सुमन खड्काका अनुसार गत बर्ष पनि र्याफ्टिङ सञ्चालन भएको थियो । मेला महोत्सवको बेलामा केही दिनमात्र उक्त व्यवसाय सञ्चालन गर्नुभन्दा स्थानीय सरकारले तामाकोसीमा जलयात्रा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्