Logo

तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो



रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै भत्किएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण गरिएको तिल्पुङ–धोबी सडकको ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको पिच उक्किएको छ भने ठाउँठाउँमा पर्खाल भत्किएका छन् । भत्किएको सडक टालटुल पारेर भुक्तानी लिएको भएपनि फेरि भत्कन सुरु गरेको छ ।

चार किलोमिटर लम्बाइको सो सडकको विस्तार तथा कालोपत्रेका लागि श्री गौरीशङ्कर÷रुपाकाली जेभी, काठमाडौँसँग १२ करोड ६४ लाख ५४ हजार २ सय ३३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०८० असार १८ गते सम्झौता गरिएको सडक २०८२ असार १७ गतेसम्म सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडि बढाइएको थियो । स्थानीयवासीका अनुसार सडक कालोपत्र हुनासाथ ठाउँ–ठाउँमा भत्किएको थियो । त्यसपछि टालटुल पारेर काम सकिएको देखाएर भुक्तानी लिइएको छ । स्थानीय मिनुका आलेमगरले भनिन् ‘पहिला हालेको पिच ठाउँ–ठाउँमा भत्कियो, पछि फेरि टालटुल पारेर गए, आँखामा छारो हाल्ने काम मात्र भयो, ठाउँ–ठाउँमा पहिरो झरेको छ, कतिपय ठाउँमा सडक नै झरेको छ, पर्खालहरू भत्किएर त्यस्तै छन्, व्यक्तिको घरमा जानो बाटाहरू भिर बनाएर छाडिएको छ, बस्ती पहिरोले तान्न लागेको छ’, उनले भनिन् ।

सडकको अत्यावश्यक स्थानमा संरक्षण पर्खाल नहुनुले गाउँ नै बग्ने जोखिम बढेको स्थानीयको भनाइ छ । तिल्पुङ ढ्याङ्ग्रेको पहिरोले बस्ती नै जोखिममा पारिरहेको छ । कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले भनिन् । ‘पहिरो नियन्त्रणका लागि न निर्माण व्यवसायीले ध्यान दिएका छन् न कार्यालयले नै चासो देखाएको छ, लगातार गइरहेको पहिरोले सवारी आवागमन र सर्वसाधारणको यात्रा जोखिममा परेको छ, सडक निर्माणको क्रममा भएको लापरबाहीले १५ घर भएको बस्ती नै बग्ने स्थितिमा पुगेको छ ।’ तिल्पुङको अक्कर भिरमा निर्माण गरिएको ग्याभिनवाल सरेर सडक नै धसिन थालेको छ । बलियो जग नराखी हालिएको ग्याभिनवालका कारण जुनसुकै बेला सडक अवरुद्ध हुने खतरा रहेको स्थानीय बताउँछन् । त्यसमा सरोकारवालाको ध्यान गएको छैन ।

सडक नजिकैको कटहरे घुम्तीमा राखिएको पिसिसी वाल जगैदेखि भत्किएको छ । सो क्षेत्रकै अर्को भागमा राखिएको मेसिनरी वालसमेत भत्किएर सडकमाथिको घर जोखिममा परेको स्थानीयले बताए । वडा सदस्य सरोज आलेले भन्े, ‘हामीले पटक–पटक ध्यानाकर्षण गरायौँ, तर सुनुवाइ नै भएन, जग नै नखनी राखिएका पर्खाल ढल्दै छन्, गाउँ पहिरोमा परिणत हुँदै छ ।’ वालहरू कमसल सामग्री प्रयोग गरेर बनाइएकाले चिराचिरा भएको, बलियो जग नराखिएकाले संरचना भत्किएको स्थानीय दीपबहादुर लुङ्गेली मगरले बताए । उनले भने, ‘जगै नराखी पर्खाल लगाए, त्यो पनि सामग्री राम्रो भएन, त्यसैले भत्किएको हो ।’

यस्तो अवस्थामा निर्माण व्यवसायीले सम्झौता अनुसार जिम्मेवारी बहन गर्ने कि नगर्ने भन्ने शङ्का स्थानीयमा देखिएको छ । कार्यवाहक वडाध्यक्ष पाण्डेले भनिन्, ‘एक वर्षसम्म भत्किएको संरचना बनाउनुपर्ने जिम्मेवारी निर्माण व्यवसायीकै हो भनिएको छ, तर सबैतिर भत्किएको छ, रोड बिग्रिएको छ, के बनाउलान् खै ।’ यस विषयमा उक्त आयोजनामा निर्माण व्यवसायीको तर्फबाट साइट इञ्चार्जका रुपमा आयोजना बोर्डमा नाम उल्लेख गरिएका विक्रम बुढाथोकीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन बन्द देखियो । कार्यालय तर्फबाट साइट हेर्ने प्राविधिक इञ्चार्ज सुदिप कार्कीलाई सम्पर्क गर्दा उनले सुरुको फेजमा मात्र काम हेरेको र पछिल्लो काम आफूले नहेरेको जानकारी दिए ।


सडक विस्तार तथा कालोपत्रेको गुणस्तरीयता बारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि पूर्वाधार विकास कार्यालयले वास्ता नगरेको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतको गुनासो छ । सडक विस्तारका क्रममा मनलाग्दी रुपमा भित्ता कटिङ गरिएकाले अहिले वडा नं. ७ को ढ्याङ्ग्रेमा ठुलो पहिरो गएकाले १९ घरपरिवार उच्च जोखिममा रहेको उनले बताए । ‘सडकको कामको गुणस्तरीयताका बारेमा हामीले धेरै भन्यौ, तर पूर्वाधार विकास कार्यालयले स्थानीय सरकारलाई टेरेन, अहिले ठाउँ ठाँमा ठुलो पहिरो गएको छ, ढ्याङ्ग्रे भन्ने स्थानमा विशाल पहिरो गएकाले माथिका १९ घर परिवार उच्च जोखिममा परेका छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्