
रामेछाप- दुई वर्षदेखि अलपत्र परेको रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा निर्माणाधीन दोरम्बा अस्पतालको भवन निर्माण कार्य सुरु भएको छ ।
एक ढलान गरी निर्माण निर्माण व्यवसायीले काम छाडेर सम्पर्कविहीन भएपछि उक्त भवन दुई वर्षभन्दा लामोदेखि अलपत्र रहेको थियो । यतिबेला उक्त भवन निर्माण सम्पन्न गरी विरामी राखेर उपचार गर्नुपर्ने गर्ने थियो तर निर्माण व्यवसायीको चरम लापरबाहीको कारण अधुुरै रहेको छ ।
उक्त निर्माणाधीन भवनमा बुट्यान पलाउनुका साथै निर्माणमा प्रयोग भइसकेका र गर्न बाँकी फलामे छडको रङै विग्रने गरी खियाले खाइसकेको अवस्था थियो । लामो समयसम्म अलपत्र छोडिँदा काम नलाग्ने भएका निर्माण सामग्रीहरु हटाई पुनः नयाँ निर्माण सामग्री प्रयोग गरी निर्माण कार्य पुनः सुरु गरिएको दोरम्बा शैलुङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक चिनीमाया बलले जानकारी दिइन् ।
उनले भनिन अहिले नयाँ निर्माण सामग्रीहरु झारेर, निर्माणमा पहिला प्रयोग गरिएका तर अहिले काम नलाग्ने भएका निर्माण सामग्रीहरु हटाएर नयाँ निर्माण सामग्री प्रयोग गरी निर्माण कार्य पुनः सुरु गरिएको छ, अब चाहिँ अस्पताल भवन निर्माण हुन्छ भन्ने आशा पलाएको छ ।
निर्माण व्यवसायीले भवन निर्माणको लागि आवश्यक पर्ने रड, सिमेन्ट, गिटी, बालुवा लगायतका निर्माण सामग्री झार्नुका साथै आवश्यक मजदुरहरु समेत ल्याएर काम सुरु गरेकाले अब चाहिँ अस्पताल बन्ना भन्ने आश लागेको छ, बलले भनिन् ।
उक्त दोरम्बा अस्पतालसँगै ठेक्का लागेको सुनापति गाउँपालिकाको हिलेदेविस्थित अस्पतालको भवन भने निर्माण सम्पन्न गरी निर्माण व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर दोरम्बा अस्पतालको भबन भने २ बर्षभन्दा बढी लामो समयदेखि अलपत्र रहेको थियो । अस्पलात भवन निर्माण स्थलमा दुई बर्षभन्दा अघिदेखि निर्माण व्यवसायी र कामदार नआउँदा चकमन्न रहेको उक्त अस्पताल भवनको पुनः निर्माण कार्य सुरु भएपछि अब अस्पताल बन्ना कि भन्ने स्थानीयमा पनि आशा पलाएको छ ।
उक्त अस्पताल भवन निर्माणका लागि पटक पटक म्याद गरिएको थियो । सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनलाई टेकेर थपिएको म्याद समेत आउदो असारमा सकिदैँ छ । तर भवन निर्माणको काम हालै पुनः सुरु भएको छ । उक्त भवन पुनः निर्माण कार्य सुरु हुँदासम्म २० प्रतिशतमात्रै काम सकिएको छ । पछिल्लो पटक थप गरिएको म्यादभित्र निर्माण कार्य सम्पन्न गर्न आगामी असारमा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ ।
गाउँपालिकाकाले आर्थिक बर्ष २०७७/७८ मा ठेक्का लगाएको उक्त भवन निर्माणका लागि आरोग्य – सुवेदी ÷ जेभिसँग निर्माण ११ करोडमा निर्माण सम्पन्न हुने गरी संझौता भएको थियो । सुरुमा उक्त भवन निर्माणको काम १८ महिनामा सम्पन्न गर्ने गरी संझौता भएको थियो ।