रामेछाप- भ्रष्टाचार विरुद्ध अभियानका केन्द्रीय अध्यक्ष यमबहादुर थापाले शनिबार रामेछाप सदरमुकाम मन्थलीस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अभियानका उपलब्धि, गतिविधि र भावी योजनाबारे जानकारी दिएका छन् । कार्यक्रममा शिक्षाविद् गुज्जबहादुर श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
थापाले भदौ २३ र २४ गतेको जेन–जी युवाको भ्रष्टाचारविरुद्ध आन्दोलनमा प्राण गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूलाई शहीद घोषणा गर्न माग गरे । साथै, आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले २०४६ सालदेखि उच्च पदमा पुगेका सबै जिम्मेवार व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने, विदेशमा रहेको अवैध सम्पत्ति नेपाल ल्याउनुपर्ने, स्थिर सरकार, रोजगारका अवसर, निःशुल्क शिक्षा–स्वास्थ्यलगायत माग अघि सारे ।
थापाले अभियानको सुरुवात २०७६ असार १५ गते मन्थलीमा शिवशङ्करको मूर्तिलाई साक्षी राखी भएको स्मरण गर्दै, सुरुवाती चरणमै १६ जिल्लामा सफलता पाएको र कोभिड महामारीपछि पुनः सक्रिय बनेको जानकारी दिए । उनका अनुसार अभियानमार्फत विद्यालयलाई कापी–बल वितरण, अभिभावकविहीन विद्यार्थीलाई सहयोग, आगलागी तथा हावाहुरी पीडितलाई राहत उपलब्ध गराइएको छ । उनले स्थानीय तहमा सुरुमा ६० प्रतिशतसम्म भ्रष्टाचार भए पनि अभियानको दबाबपछि ८० प्रतिशत काम सम्पन्न हुने अवस्था बनेको दाबी गरे । साथै, अनियमितताविरुद्ध आन्दोलन गर्दा प्रशासनसँग अनशन बसेका बिनु यादवको माग सम्बोधनमा पनि अभियानले साथ दिएको स्मरण गरे ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अभियान कुनै व्यक्तिगत स्वार्थका लागि नभई निःस्वार्थ सेवाको रूपमा अघि बढाइएको स्पष्ट पारे । “मैले भगवान् शिवशङ्करको मूर्तिमा हात राखी कालो धन नलिने कसम खाएको छु । आफ्नो धर्म र कर्मप्रति आस्था राख्दै अभियानलाई अघि बढाइरहेको छु,” उनले भने ।
