रामेछाप – लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिक करिब २० मिटर सडक भासिँदा मन्थली–खिम्ती सडक बुधवार बिहानैदेखि अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले अटो र मोटरसाइकल मात्र सञ्चालनमा छन्, ठूला सवारी रोकिएका छन्। प्रहरी निरीक्षक कौशल न्यौपानेले सडक मर्मत कार्य तीव्र गतिमा भइरहेको बताउँदै केही घण्टामै आवागमन सामान्य हुने आशा व्यक्त गरेका छन्।
गत वर्ष पनि यही स्थानमा लेदो पसेपछि मर्मत गरिएको थियो। यसपालि तामाकोशी नदीले कटान गरेपछि सडक भासिएको हो।
सडक अवरुद्ध हुँदा उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा गाउँपालिका र दोलखाबाट राजधानी जाँदै गरेका यात्रुहरू बाटोमै रोकिएका छन्।
