Logo

रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषित



रामेछाप-रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द बादेको प्रमुख आतिथ्यतामा बुधवार आयोजित विशेष कार्यक्रम मार्फत यो घोषणा गरिएको हो । मन्थली नगरपालिका बालबालिकाको अधिकार सुनिश्चित गर्दै बालमैत्री सेवा र संरचना प्रदान गर्ने पहिलो स्थानीय तह बनेको छ ।

कार्यक्रममा मन्त्री बादेले बालबालिकाका लागि संविधानले प्रदान गरेका मौलिक अधिकारसँगै सरकार, समाज र परिवारबाट उपलब्ध हुने सेवा सुविधामा वृद्धिसँगै नगरपालिकाले बालमैत्री सूचक पूरा गरेकोमा बधाई दिए । उनले नगरपालिकालाई यस कार्यको निरन्तरता दिन र बालबालिकाका हितमा थप योजना कार्यान्वयन गर्न आग्रह गरे ।

नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद आनन्दकुमार श्रेष्ठ र तारानारायण श्रेष्ठसहित विभिन्न जनप्रतिनिधिहरुले मन्थली नगरपालिका जिल्लामा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेकोमा खुसी व्यक्त गरे । उनीहरुले बालमैत्री सूचकहरुको नियमित कार्यान्वयनमा नगरपालिका सतर्क रहनुपर्नेमा जोड दिएका थिए ।

नगरप्रमुख श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाभित्र १८ वर्ष मुनिका १५ हजार १ सय ५७ बालबालिका रहेको जानकारी दिएका थिए । उनकाअनुसार नगरपालिकामा ६६ सामुदायिक विद्यालय, ६ संस्थागत विद्यालय, ८० बालविकास केन्द्र, ९ सामुदायिक सिकाई केन्द्र, १ प्राविधिक शिक्षालय, १ क्याम्पस र १ विशेष शिक्षा स्रोत सञ्चालनमा रहेको छ ।

साथै, नगरपालिका भित्र २ सय बालसमूह, १४ वडा बालसञ्जाल, १ नगर बालसञ्जाल, ५२ किशोरी समूह, १४ वडा स्तरीय किशोरी सञ्जाल र १ नगर स्तरीय किशोरीवृत्त सञ्चालनमा रहेको छ । यी समूहमा जम्मा ३ हजार ९ सय ६९ बालबालिकाले प्रत्यक्ष सहभागिता जनाइरहेका छन् ।

बालमैत्री घोषणा कार्यक्रममा मन्थली नगरपालिकाका विभिन्न तीन स्थानबाट र्‍याली निस्केका थिए । आकाशे पुल, भैँसेश्वर र मन्थली क्याम्पसबाट निस्केका र्‍यालीहरूले बजारका विभिन्न भागको परिक्रमा गरी तीनलाल पार्कमा कार्यक्रम स्थलमा पुगेर समापन गरेका थिए । र्‍यालीमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, व्यवसायी, नेपाल स्काउट लगायतका समुदायका प्रतिनिधिहरु सहभागी थिए । र्‍यालीमा बालबालिकाको अधिकार, सुरक्षा र कल्याणका विषयमा नारा तथा सन्देश दिइएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने नगरका विभिन्न जातजातिका समुदायले आफ्नो धार्मिक र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । मन्थली नगरपालिकाले बालमैत्री घोषणा उत्सवमा सहभागी सबैलाई सजिलै कार्यक्रममा सहभागी हुन सकोस् भनि नगरपालिका कार्यालय, वडा कार्यालय र विद्यालयहरू बन्द गरेको थियो ।

बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न नगरपालिकाले लगभग दुई वर्षको तयारीमा सूचक पूरा गरेको थियो । यसअघि नगरभित्रका १४ वटै वडालाई एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो । यसै प्रकार, रामेछाप नगरपालिकाले पनि आफ्ना ९ वटै वडालाई बालमैत्री वडा घोषणा गरिसकेको छ । नगरपालिका स्रोतका अनुसार भदौको तेस्रो साता भित्र मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढेको छ ।

मन्थलीको यस उपलब्धिलाई बालबालिका संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सहभागितामा सुधारको सङ्केतको रूपमा लिइएको छ । स्थानीय तहले बालमैत्री नीति कार्यान्वयनमा निरन्तरता दिँदा बालबालिकाको कल्याण र अधिकारको संरक्षणमा थप मजबुती आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्