Logo

रामेछापमा पहिलो पटक जुनारको बोटमा ट्याग



 

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक जुनारको बोटमा ट्याग लगाउने कार्यको थालनी गरिएको छ । सामाजिक अभियन्ता विपिन भट्टराईको अगुवाइमा जुनारको बोटमा नम्बरिङ गरिएको हो । भट्टराईको अगुवाइमा बुधवार रामेछाप नगरपालिका–७ सुकाजाेर हिलेपानीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेको जुनारका बोटहरुलाई नम्बरिङ गरिएको हो । आफ्नो व्यक्तिगत पहलमा जुनारको बोटमा नम्बरिङ गर्ने कामको सुरुवात गरेको भट्टराईले बताए ।

जुनारको बोटमा नम्बरिङ गरिएपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसानलाई एकिन हुने, कुन बोटमा कस्तो जुनार फल्यो, उमेरअनुसार दिनुपर्ने फल दिएको छ कि छैन भन्ने कुराको एकिन गर्न र कुन विरुवामा रोग लागेको छ भनी पहिचान गर्न समेत सहज हुने अभियन्ता भट्टराईको भनाइ छ । बोटमा रोग लागेको अवस्थामा नम्बरिङको आधारमा किसानलाई रोग लागेको बोटको पहिचान गर्न सजिलो हुने र किसान घरमा नभएको अवस्थामा कृषि प्राविधिक उपचारको लागि बगैँचामा पुगेको अवस्थामा पनि नम्बरिङको आधारमा उपचार गर्न सहज हुने उनको भनाइ छ । नम्बरिङ गर्दा जुनालाई ब्रान्डिङ र बजारीकरणमा समेत सहयोग पुग्ने भट्टराईले बताए । रामेछाप जिल्लालाई जुनारले पहिचान दिएकाले जिल्लाभरिका सबै जुनार बगैँचामा नम्बरिङ गर्नु आवश्यक रहेको भन्दै त्यसका लागि कार्यक्रम ल्याउन स्थानीय सरकारलाई पनि उनले आग्रह गरे ।


जुनारको बोटमा नम्बरिङ गरेपछि आगामी दिनमा कुन बोटले कस्तो फल दिन्छ, कुन बोटमा रोग लागेको छ र कुनै बोटलाई हटाएर नयाँ बोट रोप्नु परेमा पनि पहिचान गर्न सहज हुने कृषक रामकुमार कार्कीको भनाइ छ । आगामी वर्षदेखि जुनारको दाना टिप्दा छुट्टाछुटटै बोटको रेकर्ड राख्ने पनि उनले बताए ।विगतका वर्षहरुमा किसानले जुनार अनुमानको भरमा होलेसेलमा बिक्री वितरण गर्दै आएकोमा जुनारको बोटमा गरिएको नम्बरिङबाट कुन बोटले कति फल दियो, फल बढ्दो छ कि घद्दो छ भन्ने कुराको समेत पहिचान गर्न सहज हुने जुनार किसान सहकारीका सञ्चालक ढालबिक्रम कार्कीको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले जुनाको बाटेमा नम्बरिङ गर्ने काम सामान्यजस्तो लागे पनि निकै महत्वपूर्ण काम भएको बताए । विगतमा त्यसतर्फ हाम्रो ध्यान पुगेको रहेनछ, अहिले बिपिन भट्टराईले व्यक्तिगत रुपमा यो कामको सुरुवात गर्नुभएको छ । आगामी दिनमा हामीले पनि यस्ता खालका कार्यक्रमका लागि पहल गर्ने छौँ, कार्यालय प्रमुख गैरेले भने । आगामी दिनमा जुनारको बोटको सम्पूर्ण रेकर्ड राख्न क्यूआरकोड जेनेरेट गरी नम्बरिङ गर्न सकिएमा अझ राम्रो हुने गैरेको भनाइ छ । त्यतातर्फ परियोजनाको पनि ध्यान केन्द्रित भएको उनले बताए ।

रामेछाप नगरपालिका–७ का वडाध्यक्ष समीर कार्कीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकार, रामेछाप र कृषि विकास कार्यालयसँगको समन्वयमा नगरपालिकामा जुनारलाई प्रवर्धन गर्ने काम भइरहेको बताए । आगामी दिनमा पनि कार्यक्रम दोहोरोपना नहुने गरी नगरपालिकाले जुनारको बजारीकरण तथा प्रवर्धनका कार्यक्रमहरु ल्याउने बताए । परियोजनासँगको सहकार्यमा जुनारमा लागेको रोग, किराहरु नियन्त्रण गर्न सफल भएको पनि उनले बताए । पानीको अभावमा जुनारमा लागेको दानाहरु सुक्ने अवस्था भएकाले पानीको पनि व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताए । अहिले रामेछापको जुनारलाई सिन्धुलीको जुनार भनेर बेच्ने गरेको पाइएको भन्दै रामेछापको जुनारलाई रामेछापकै हो भनेर पहिचान दिनको लागि ब्राण्डिङ तथा बजारीकरण गर्ने काममा नगरपालिका लागिरहेको उनले भनाइ छ ।

अहिले कृषकले आफ्नै व्यक्तिगत पहलमा जुनारको बोटमा नम्बरिङ गर्ने कामको सुरुवात गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिनको लागि नगरपालिकाले कार्यक्रम बनाउने नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष कार्कीले बताए । अहिले कृषकले आफ्नै लगानीमा यो कामको सुरुवात गर्नुभएको छ, आगामी दिनमा नगरपालिकाको पनि केही हिस्सा रहने गरी नम्बरिङको कामलाई अघि बढाउँछौँ, वडाध्यक्ष कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्