रामेछाप । रामेछाप नगरपालिकाले पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा रामेछाप नगरपालिकाले प्रवाह गरेको सेवा तथा सञ्चालन गरेका गतिविधिहरुका बारेमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
बुधवार रामेछाप नगरपालिका–१, गोठगाँउमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले वित्तीय विवरण तथा विकास योजनाको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका गरेका थिए । उनकाअनुसार चालु खर्चतर्फ विनियोजित ५१ करोड ८३ लाख ३७ हजार ९७० रुपैयाँमध्ये ११ करोड ३३ लाख ९५ हजार रुपैयाँ मात्र खर्च भएको छ, जसको प्रतिशत २१.८७ रहेको छ ।
त्यसैगरी पुँजीगत बजेटतर्फ विनियोजित ३३ करोड २७ लाख ९ हजार ९ सय रुपैयाँमध्ये ५७ लाख ६४ हजार ८२४ रुपैयाँ खर्च भएको छ, जसको प्रतिशत १.७३ प्रतिशत रहेको चापागाईंले बताए ।
आन्तरिक आम्दानीतर्फ नगरपालिकाले चालु वर्षमा १ करोड १७ लाख ७४ हजार ७०० रुपैयाँ उठाउने लक्ष्य राखेको छ । पहिलो चौमासिकसम्म ३५ लाख ४४ हजार ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन ३०.१० प्रतिशत हो ।

नगरपालिकाको २३४ पूर्वाधार योजना मध्ये थोरै योजनाहरु अछि बढेसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा यस आर्थिक वर्ष २ सय ३४ वटा पूर्वाधार योजना रहेकोमा अहिलेसम्म ५ वटा योजना ठेक्कामार्फत अघि बढेका छन् । ६ वटा योजनाका कोटेसन प्रक्रिया सम्पन्न भइसकेको छ । ५२ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालनका लागि सम्झौता गरिसकिएको र ५ वटा योजना सम्पन्न भएर भुक्तानीसमेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए ।
उनकाअनुसार अधिकांश योजनाहरू प्रक्रियागत कारणले ढिलो भए पनि आगामी महिनाहरूमा तीव्र गतिमा अघि बढाउने तयारी भइरहेको छ ।
सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा अन्य पूर्वाधारसँग सम्बन्धित प्रश्नहरू उठाएका थिए । नागरिकका जिज्ञासामा नगरप्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, वडा अध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जवाफ दिएका थिए ।
कार्यक्रममा नगरपालिकाले उपलब्ध गराइरहेका सेवा, वित्तीय अवस्था, विकास योजनाको प्रगति तथा आगामी योजनाबारे विस्तृत सार्वजनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाइलाई स्थानीय तहको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिताको महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ ।
