रामेछाप- रामेछाप बजारका उद्योग तथा पसलहरूको अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, रामेछाप नगरपालिका, पत्रकार महासङ्घ, नगर उद्योग वाणिज्य सङ्घ र प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी संयुक्त टोलीले बजार क्षेत्रका होटल, पसल र उद्योगहरूको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेका व्यवसायीलाई सचेत गराउनका साथै जरिवानासमेत गरिएको अनुगमन समितिले जनाएको छ । केही उद्योगमा अखाद्य वस्तु फेला परेपछि प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को प्रावधानअनुसार जरिवाना गरिएको बताइएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख एवम् अनुगमन निरीक्षण अधिकृत खेमराज घिमिरेका अनुसार उद्योथी व्यवसायीहरुलाई सरसफाइमा सुधार गर्न निर्देशन दिइएको छ । सुधार नगरे उद्योग नै बन्द गर्ने चेतावनी समेत दिइएको उनले बताए ।
अनुगमन टोलीले १९ वटा होटल र पसल निरीक्षण गरेको थियो । सो क्रममा केही व्यवसायलाई व्यवस्थापन सुधार गर्न र सरसफाइमा ध्यान दिन सुझाव र निर्देशन दिइएको टोलीले जनाएको छ । साथै, रामेछापका स्थानीय तहहरूले पनि आफ्ना बजार क्षेत्रमा यस्तै अनुगमन गरिरहेको जानकारी दिइएको छ ।
