
सन्तोष ढुङ्गेल
रामेछाप– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज डाक्टर राजन भट्टराईले वर्तमान सरकार जनताको म्यानडेटमा बनेको दाबी गरेका छन् । प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले जनताको मत नै काङ्ग्रेस एमालेलाई पहिलो र दोस्रो मत दिएर सरकारको नेतृत्वमा पठाएको बताए ।
नेकपा एमालेले सुरु गरेको वडा स्तरीय सङ्गठन विस्तारका क्रममा बिहिवार सदरमुकाम मन्थली आएका भट्टराईले देशमा स्थिर सरकार र सामाजिक आर्थिक रुपान्तरण गर्दै विज्ञान प्रविधिलाई प्राथमिकता दिएर काम गरेको जानकारी दिए । देशका ठुला दल नमिल्दा साना दलको हालिमुहाली चलेको र देश अस्थिर भएको समेत बताए ।
वर्तमान सरकार जनमूखी काम गर्दै अगाडि बढेको बताउँदै आम नागरिकको गुनासो सिंहदरबारसम्म पुर्याने माध्यम ‘हेल्लो सरकार’ ११११ मा फोन गर्ने र गुनासो टिपाउने कार्यक्रमलाई कार्यविधि बनाएर सुरु गर्न लागिएको पनि भट्टराईले जानकारी दिए । आलोपालो सरकारको नेतृत्व गर्न काङ्ग्रेस एमालेले गरेको सहमति अनुसार डेढ बर्ष केपि शर्मा ओली र त्यसपछि नेपाली काङ्ग्रेसले नेतृत्व गर्ने र त्यही सरकारले चुनाव समेत गराउने सहमति भएको उनले बताए । २०८४ को आम निर्वाचन पछि पनि बहुमत नल्याएको खण्डमा देशलाई स्थायित्व दिन र दीगो विकासको लागि समेत स्थिर सरकारको लागि सहमति भएको समेत भट्टराईले जानकारी दिए