
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट वार्षिक रुपमा २२ करोड विप्रेषण भित्रिने गरेको छ । सुरक्षित आप्रवास (सामी) कार्यक्रमको चौथो चरण परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा सुरक्षित आप्रवास (सामी) कार्यक्रम रामेछापका संयोजक दीपक केसीले उक्त कुरा जानकारी दिएका हुन् ।
कार्यक्रम संयोजक केसीकाअनुसार रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्ये वार्षिक रुपमा सरदर ५ जनाले विदेशमै ज्यान गुमाउने गरेका छन् भने सरदर ५ जनाको विभिन्न कारण अङ्गभङ्ग हुने गरेको छ । रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुमा अझै पनि अदक्ष कामदारहरुको सङ्ख्या धेरै रहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकाअनुसार रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्ये ४१ प्रतिशत युवाहरु सिप सिकेर गएका छन् भने अझै पनि ५९ प्रतिशत युवाहरु अदक्ष (लेवर) कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । यद्यपि विगतको तुलनामा सिप सिकेर वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको पाइएको छ ।
वैदेशिक रोजगारीका कारण बाह्य बसाइसराइ समेत बढेको कार्यक्रम संयोजक केसीले बताए । रामेछाप जिल्लाबाट रोजगारीको सिलसिलामा विदेश गई विभिन्न कारण विदेशमै मृत्यु भएका २०७७ सालदेखि २०८१ माघसम्म सामी कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रको पहल र सहजीकरणबाट २० जनाको शव नेपाल ल्याइएको पनि कार्यक्रम संयोजक केसीको जानकारी दिए ।
त्यसैगरी २०७७ सालदेखि २०८१ साल माघसम्म विदेशमा अलपत्र परेका, वेपत्ता भएका, बन्धक र जेल परेका गरी ५२ जनालाई आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा नेपाल ल्याउन सफल भएको पनि उनले बताए ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरुलाई बैदेशिक रोजगार वोर्डबाट प्राप्त हुने आर्थिक सहायता दिलाउन पनि स्रोत केन्द्रले सहजीकरण गर्दै आएको छ ।
२०७७ सालदेखि २०८१ साल माघसम्म अङ्गभङ्ग तथा बिरामी भएका ८ जना सामी कार्यक्रम अन्तर्गत स्रोत केन्द्रकै सहजीकरणमा घर फर्कन सफल भएका छन् ।
त्यस्तै मुटु, मिर्गौला, अल्जाइमर, पार्किन्सन र क्यान्सर भएका कामदार तथा परिवारको उपचारको लागि सामी कार्यक्रमकै सहजीकरणमा ४ जनाले परव्यक्ति ५० हजार रुपैयाँसम्म उपचार खर्च पाएका छन् ।
वैदेशिक रोजगारीका सिलसिलामा मृत्य भएकाका छोराछोरीलाई छात्रावृत्ती प्राप्तिको लागि पनि सामी अन्तर्गत सुरक्षित आप्रवास स्रोत केन्द्रले सहजीकरण गर्दै आएको छ । २०७७ सालदेखि २०८१ माघसम्म विदेशमा मृत्यु तथा पूर्णरुपमा अङ्गभङ्ग भएकाका छोराछोरीलाई वार्षिक नियमित छात्रावृत्ति स्वरुप स्रोत केन्द्रको सहजीकरणमा १३ लाख ४० हजार रुपैँया रामेछापका पीडित बालबालिकाहरुले पाएका छन् ।
सो अवधिमा विदेशमा मेडिकल फेल भएका दुई जनालाई नेपाल ल्याउन पनि स्रोत केन्द्रले सहजीकरण गरेको छ । सोही अवधिमा कम्पनीले काम तथा तलब नदिएको ५७ जनले सामी कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा काम तथा तलब प्राप्त गरेका छन् । स्रोत केन्द्रको सहजीकरणमा ठगीमा परकोहरुलाई पीडकहरुबाट र विभिन्न दुर्घटनामा परेका व्यक्ति तथा पीडित परिवारलाई सम्बन्धी देश, बिमा, वैदेशिक रोजगार बोर्डबाट गरी २०७७ सालदेखि २०८१ साल माघसम्म रामेछापका पीडितहरुले ४ करोड ४१ लाख ३७ हजार रकम प्राप्त गरेका छन् ।
सुरक्षित आप्रवास (सामी) कार्यक्रम रामेछापले २०७६ साल पुसदेखि २०८१ असारसम्म सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा १ सय २२ समूह मार्फत १ हजार ६ सय जनालाई वित्तिय साक्षरता तालिम दिइएको पनि कार्यक्रम संयोजक केसीले जनकारी दिए । २०७६ पुसदेखि २०८१ असारसम्म ५ सय जनालाई मनोसामाजिक परामर्श सेवा दिएको पनि उनले बताए । रामेछाप जिल्लाका मन्थली नगरपालिका, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन हुँदै आएको चालु आर्थिक वर्षबाट लिखु तामाकोसी गाउँपालिकाले पनि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२/०८३ बाट उक्त कार्यक्रम सञ्चालनको लागि खाँडादेवी तथा गोकुलगङ् गाउँपालिका र रामेछाप नगरपालिकाले समेत प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।