
रामेछाप – रामेछापको सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले सामी परियोजना लागू हुँदा गाउँपालिकामा काम गर्न अत्यन्त सहज भएको बताइन् । सामी परियोजना मार्फत प्रत्येक जनताको घरघरमा पुग्ने अवस्था बनेको र त्यसबाट सुनापति गाउँपालिकाको समस्याको पहिचान भई गाउँपालिकालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल र योजना निर्माण गर्नसमेत सहज भएको उपाध्यक्ष विष्टको भनाइ छ ।
कुनै पनि कार्यक्रम सञ्चालन गर्दा नागरिकको मनोभावनालाई नबुझी सिधै कार्यक्रम लिएर जाँदा असफल भएको अनुभव हामीसँग छ, उपाध्यक्ष विष्टले भनिन्– सुनापति गाउँपालिकालाई थान्का र गलैचाको हव बनाउने उद्देश्यले हामीले कार्यक्रम अघि बढायौँ र हामीले यसमा धेरै राम्रो सम्भावना पनि देखेका छौँ, यसको मुख्य जग भनेको सामी कार्यक्रमको वित्तीय साक्षरता कक्षा हो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा बोल्दै उपाध्यक्ष विष्टले यस्तो बताएकी हुन् ।
वैदेशिक रोजगारीमा गएकाहरुको परिवारमा वित्तीय साक्षरता कक्षा सञ्चालन ग¥यौँ, २१ वटा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिसकेपछि विदेशमा कमाएको पैसाको सही सदुपयोग गर्नुपर्छ, जोगाउनु पर्छ र म आफैले केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । उहाँहरु आफैले केही गर्नुपर्छ भनेर लागिरहनु भएको छ, यसलाई हामीले उपलब्धीको रुपमा लिएका छौँ, उपाध्यक्ष विष्टले भनिन् ।
सामी कार्यक्रम अन्तर्गत नै मनोपरामर्श कार्यक्रम सञ्चालन गरेका छौँ, उपाध्यक्ष विष्टले भनिन्– भूकम्पको बेला सुनापति गाउँपालिकामा आत्महत्याको घटना धेरै थियो । म अब आत्महत्या गर्छु भन्ने अवस्थामा पुगेका मान्छेलाई पनि मनोपरामर्श कर्ताले बचाउनु भएको छ ।
अघिल्लो वर्ष सामी परियोजना फेजआउट हुने हल्ला थियो, परियोजना फेजआउट भएपनि सुनापति गाउँपालिकाले चाँहि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ भनेर हामी जनप्रतिनिधि र कर्मचारीबिच सहमति भएको थियो, उनले भनिन् ।
सामी कार्यक्रम मार्फत हामीलाई जनस्तरमा तलसम्म पुग्ने आधार पनि बनेको छ र हामीले बनाएको योजना कार्यान्वयन गर्नसमेत यो कार्यक्रम अत्यन्तै राम्रो छ, उपाध्यक्ष विष्टको भनाइ थियो । उनले भनिन्– अझ हामी जनप्रतिनिधिहरुको लागि त जनताको दुःख बुझ्न, निरन्तर भेटघाट र समस्या समाधानको लागि सहयोगी नै बनेको छ ।
सामी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता र मनोपरामर्श मात्र नभई त्यस सम्बन्धी अन्य कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष विष्टले बताइन् । विद्यालयहरुमा पुगेर पनि वैदेशिक रोजगारी सम्बन्धी सचेनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सामी कार्यक्रम सञ्चालन नगरेका पालिकाहरुलाई पनि उक्त कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष विष्टले सुझाव दिइन् ।