
रामेछाप- सेतो गुँरास राष्ट्रिय बालविकास सेवाद्वारा सञ्चालित “प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड” मा आधारित ८ दिने आवासीय तालिम सम्पन्न भएको छ ।
चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग तथा शिक्षा विकास तथा मानव स्रोत केन्द्रसँगको साँझेदारीमा सञ्चालित “प्रारम्भिक बालविकास सद्भाव निर्माणको उज्ज्वल सुरुवात (ECD harmony building bright beginning in Ramechhap and Solukhumbu) “परियोजनाअन्तर्गत रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकासँगको समन्वयमा सेतो गुँरासले आयोजना गरेको “प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड” मा आधारित आठ दिने आवासीय तालिम सम्पन्न भएको हो । असार १० गते मङ्गलवारदेखि सञ्चालन भएको तालिम १७ गते मङ्गलवार सम्पन्न भएको हो । तालिममा मन्थली नगरपालकाअन्तर्गतका विद्याश्रम आधारभूत विद्यालय जखनिटार, बालताम्राकौशिका आधारभूत विद्यालय टेकानपुर, मनकामना माध्यमिक विद्यालय नाटिला, गौरीशङ्कर आधारभूत विद्यालय अर्चले, सेतीदेवी माध्यमिक विद्यालय सालु, आधारभूत विद्यालय सामालिस्थान, सिर्जनात्मक आधारभूत विद्यालय ओडारे, पशुपति आधारभूत भुलभुले, हरिचिण्डे माध्यमिक विद्यालय फुलासी, जगदम्बा आधारभूत विद्यालय चिउरीपानी, नागकन्या माध्यमिक विद्यालय गड्वारी, भैरवी माध्यमिक विद्यालय सुनारपानी र माध्यमिक विद्यालय सिक्राल लगायत १३ विद्यालयका बालशिक्षकहरुको सहभागिता रहेको थियो । यस्तै रामेछाप नगरपालिकाबाट महेन्द्रज्योती आधारभूत विद्यालय, जलकन्यादेवी आधारभूत विद्यालय, जनकल्याण माध्यमिक विद्यालय र आधारभूत विद्यालय लगायतका विद्यालयका बालशिक्षकहरुको सहभागिता रहेको मन्थली नगरपालिकाको बालविकास संयोजक (अधिकृतस्तर छैटौँ) नवराज विश्वकर्माले जानकारी दिए ।
संयोक विश्वकर्माकाअनुसार तालिममा प्रारम्भिक बालविकासको अवधारणा, महìव, लगानी र प्रतिफलको बारेमा जानकारी गराइएको थियो । प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७, प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७ का बारेमा पनि जानकारी गराइएका उनले बताए । तालिममा प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७ अनुसार बालविकास केन्द्रमा शैक्षिक गतिविधि सञ्चान गर्न आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण गर्ने कौशलको बारेमा पनि सहभागीहरुलाई सिकाइएको संयोजक विश्वकर्माले बताए । नेपाल सरकारले प्रारम्भिक बालविकास उमेर समुहअन्तर्गत ४८ देखि ६० महिना उमेरका बालबालिकाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यका साथ ल्याएको इसिइडी मापदण्ड र पाठ्यक्रमअनुसारको गतिविधि सञ्चालन गर्न बालशिक्षकहरुलाई सक्षम बनाउने उद्देश्यले यो तालिमको आयोजना गरिएको उनको भनाइ छ । उनकाअनुसार तालिममा प्रारम्भिक बालविकास केन्द्रमा दैनिक कार्यतालिकाअनुसार शिक्षण गर्ने तरिका, सूचक मापन तथा मूल्याङ्क कौशलबारे सिकाइएको थियो भने सो विषयमा सूक्ष्म शिक्षणसमेत गराइएको थियो ।
तालिममा सहभागीहरुले पनि यस तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाएको भन्दै आगामी दिनमा पनि यस किसिमको तालिम समयसमयमा हुनुपर्ने बताएका थिए । जनकल्याण माध्यमिक विद्यालयकी बालशिक्षक उर्मिला मगरले पनि यसअघि प्रारम्भि बालविकास तथा शिक्षाको पाठ्यक्रमको बारेमा केही थाहा नभएको भन्दै तालिमले धेरै कुरा सिक्ने अवसर मिलेको बताइन् । आगामी दिनमा सिकेका कुरालाई विद्यालयमा गएर कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले बताइन् । यसैगरी अर्की बालशिक्षक सलिना दर्लामी मगरले पनि यसअघि बालविकास केन्द्रमा हुनुपर्ने पाठ्यक्रमले तोकेका सिकाइ कुना र क्षेत्रको बारेमा केही थाहा नभएको भन्दै बालबालिकाहरुको प्रगति मूल्याङ्कनको बारेमा समेत केही थाहा नभएको बताइन् । तालिमपछि यि सबै कुराबारे आफूहरुले जानकारी लिने मौका मिलेको भन्दै उहाँले खुसी व्यक्त गरिन् । अर्का बालशिक्षकहरु श्याम कुमार खड्का, राजकुमार अधिकारी र दिपा ढलकुटीले पनि तालिमबाट
अहिलेसम्म आफूहरुले थाहा नपाएको धेरै कुरा सिक्ने मौका पाएको भन्दै खुसी व्यक्त गरे । तालिमको मुख्य प्रशिक्षक रिता श्रेष्ठले तालिममा सिकेका कुरालाई विद्यालय गएर व्यवहारिक रुपमै कार्यान्वयन गर्न सबै बालशिकक्षहरुलाई अनुरोध गरेका थिए । सेतो गुँरास राष्ट्रिय बालविकास सेवाकी जिल्ला परियोजना रामेछापकी संयोजक मैया वस्नेतले तालिमको सहजीकरण गरेकी थिइन् । संस्थाले तालिममा सहभागीहरुलाई आठ दिनसम्म खाना, बस्नको व्यवस्थासहित यातायात खर्चकोसमेत व्यवस्था गरेको थियो ।