
रामेछाप- रामेछाप अस्पताल सेवा प्रवाहमा बागमती प्रदेशकै दोस्रो उत्कृष्ट अस्पताल बनेको छ । रामेछाप अस्पताल छोटो अवधिमै बागमती प्रदेशकै दोस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।
बागमती प्रदेशको दश जिल्ला मध्यका प्रदेश अस्पतालहरू मध्ये स्वास्थ्य निर्देशनालयको मापदण्ड अनुसार १०० पूर्णका गरिको मूल्याङ्कनमा रामेछाप अस्पतालले ८९ अङ्क प्राप्त गरी न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्ने दोस्रो उत्कृष्ट अस्पताल बनेको हो ।
अस्पताल व्यवस्थापन समितिको आयोजनाले आयोजना गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका सदस्य रत्न नगर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले अस्पतालले प्राप्त गरेको नतिजा सार्वजनिक गरेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिन र मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठसहित अस्पतालका चिकित्सक र सबै स्वास्थयकर्मीहरुको सभागिताका रहेको कार्यक्रममा मूल्याङ्कन परिणाम सार्वजनिक गरेको थियो ।
उक्त अवसरमा डाक्टर ज्ञवालीले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा रामेछाप अस्पताल दोस्रो र सिन्धुपाल्चोकको चौतारा अस्पताल ९३ अङ्क प्राप्त गरी प्रदेशमा पहिलो अस्पताल बनेको जानकारी दिएका थिए । त्यसैगरी दोलखा जिल्लाको पशुपति चौलागाइ स्मृति अस्पताल ७२ अङ्क प्राप्त गर्दै तेस्रो बनेको उनले जानकारी दिएका थिए ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम अन्तर्गत बागमती प्रदेश भरिका ५० शैयाको अस्पतालहरूको मूल्याङ्कनका आधारमा गठित प्रदेश मूल्याङ्कन समितिले तोकिएको मापदण्ड भित्र रहेर तयार गरेको परिणामका आधारमा उक्त नतिजा सार्वजनिक गरेको हो ।
त्यसका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले फागुन १२ र १३ गते दुई दिन गरेको स्थलगत अनुगमनका आधारमा अस्पतालको न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्थाका बारेमा मापन गरेको बताइएको छ ।
रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बिगतदेखि नै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा राम्रो अङ्क प्राप्त गर्दै आएको रामेछाप अस्पताल यस वर्ष पनि बागमती प्रदेशमा दोस्रो अङ्क प्राप्त गर्न सफल भएको भन्दै अस्पतालका नेतृत्व र कर्मचारीलाई धन्यवाद दिए । अस्पतालको सफलताप्रति आफूलाई खुसी लागेको पनि उनले बताए ।
अत्यन्त मेहनत र कष्टकर अवस्थामा हुर्किएको रामेछाप अस्पतालको सानलाई सबै पक्षले मिलेर जगेर्ना गर्नुपर्ने नगर प्रमुख न्यौपानेको भनाइ थियो । त्यसैगरी उनले गत वर्ष मात्रै ५० शैयाको अस्पतालको संरक्षण गर्दै आम नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको पनि उत्तिकै दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन नगरले आवश्यक सहयोग गर्दै जाने पनि नगरप्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा रामेछापको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, अस्पतालका कर्मचारी लगायतको मिहिनेतका कारण अस्पताल राम्रो बन्दै गएका भन्दै अस्पतालबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउँदै लैजान सुझाव दिए ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ र रामेछापका नगरपालिका प्रवक्ता समीर कार्कीले अस्पतालले सेवा प्रवाहमा पु¥याएको योगदान प्रति धन्यवाद दिँदै थप सेवा प्रवाहमा नगरपालिका पनि बजेटको पावन्दिलाई हेरेर सहयोग गर्न तयार रहेको बताएका छन् ।
नतिजा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका प्रमुख स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा रामेछाप अस्पताल दोस्रो हुन सफल भएकोमा बधाइ दिएका थिए ।
आर्थिक वर्ष २०८०÷०८१ बाट ५० शैयाको अस्पताल बनेको रामेछाप अस्पतालले छोटो समयमै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा प्रदेशकै दोस्रो बन्न सफल हुनुको श्रेय अस्पतालको नेतृत्व र आम कर्मचारीलाई जाने बताए । आगामी दिनमा अझै राम्रो काम गर्दै जानु पर्ने दायित्व पनि अस्पताल टिमको काँधमा थपिएको उनले बताए ।
रामेछाप अस्पतालले ५० बेडको स्वीकृति भएको छोटो समयमै उत्कृष्ट स्थान हासिल गर्नु राम्रो भएपनि सेवा प्रवाहमा धेरै कुराहरू सुधार गर्न आवश्यक रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन कर्मचारी र नेतृत्वलाई आग्रह गरेका छन् ।
कार्यक्रममा रामेछाप अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले अस्पतालले प्राप्त गरेको अङ्कको श्रेय नेतृत्वसँगै अस्पतालका चिकित्सक र आम स्वास्थकर्मीहरुलाई जाने बताए । यो कर्ममा सहयोग गर्नु हुने सबै साथीहरूलाई बधाईसँगै धन्यवाद पनि दिन चाहन्छु डाक्टर श्रेष्ठले भने । उनले आर्थिक वर्ष २०८०÷०८१ मा अस्पतालबाट २० हजार ४ सय १४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको फागुनको दोस्रो हप्तासम्म १४ हजार ९ सय ४० जनाले अस्पतालबाट प्रत्यक्ष रूपमा सेवा लिएको जानकारी दिए । डाक्टर श्रेष्ठले आफ्नो प्रस्तुतिमा २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको रामेछाप अस्पताल २०५० सालमा १५ शैयाको अस्पतालमा स्तरोन्नती हुँदै आर्थिक वर्ष २०७५÷०७६ बाट बागमती प्रदेश अन्तर्गतको अस्पतालको रूपमा सञ्चालनमा रहेको बताए । अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ बाट भने ५० शैयाको अस्पतालका रूपमा स्वीकृति प्राप्त गरी सञ्चालित रहेको डाक्टर श्रेष्ठले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले सेवाको विस्तार तथा गुणस्तरीयतासँगै पछिल्लो समय रामेछाप अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूको सङ्ख्या समेत अत्यधिक रूपमा बढेको बताएका थिए । अस्पतालबाट अपाङ्क तथा ज्येष्ठ नागरिक र विपन्नहरूलाई प्रवाह गरिँदै आएको छुट तथा अन्य सेवाका बारेमा पनि जानकारी अध्यक्ष पाख्रिनले जानकारी गराएका थिए । मैले अस्पतालको नेतृत्व गरेपछि अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा कुल ९१ अङ्क हासिल गरी देशभरबाट तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो, उनले भने । यो वर्ष पनि बागमती प्रदेश भरिका ५० सैयाका अस्पताल मध्ये दोस्रो स्थान हासिल गर्नु गर्वको कुरा हो उनको भनाइ थियो ।