
रामेछाप- मझे साबा रामेछापले माझी भाषा पढाइ प्रवाह कक्षाका लागि तीन दिने शिक्षक तालिम सम्पन्न गरेको हो ।
हिमाली आदीवासी समाज काठमाडौँ, नेपालको सहयोगमा मन्थली नगरपालिका भित्रका १० जनालाई माझी भाषा पढाइ प्रवाह कक्षाका लागि शिक्षक तालिम दिएको हो । उक्त तीन दिने तालिमको समापन आइतवार गरिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका–७ का वडा अध्यक्ष भुवनहरी प्रसाईले माझी भाषा संरक्षण गर्न आगामी आर्थिक वर्षको लागि वडाले बजेटको व्यवस्था गर्ने बताएका छन् ।
भाषा लोप हुँदा जातिय पहिचानसमेत लोप हुने भएकाले पहिचान संरक्षणको लागि भाषा जोगाउनु आवश्यक रहेको भन्दै त्यसका लागि वडाले थोरै भएपनि बजेटको व्यस्थापन गर्ने बताएका छन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का वडाध्यक्ष प्रदिपकुमार तामाङले संविधानले मातृ भाषामा पढ्न पाउँने अधिकारको समेत सुनिश्चितता गरेकोले भाषा संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व भएको बताए । जातीय पहिचान रक्षाको लागि भाषा महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।
तालिमको प्रशिक्षक तथा हिमाली आदीवासी समाजका कार्यक्रम संयोजक तेसी डेमा भोटेले तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्न तालिमका सहभागिहरुलाई अनुरोध गरिन् । हिमाली आदीवासी समाजले नेपालका सबै मातृ भाषाहरुको सरक्षणका लागि काम गर्दै आएको बताउँदै माझी भाषा संरक्षणका लागि आगामी दिनमा पनि योजना बनाएर अघि बढ्ने बताएकी छन् । तालिम समापन कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घका कार्यवाहक अध्यक्ष तथा माझी भाषा पढाइ प्रवाह कक्षा तालिमका प्रशिक्षक श्रीबहादुर मााझीको अध्यक्षतामा सम्पन्न भएको हो । शिक्षक तालिम लिएका १० जनाले गाउँगाउँमा एक महिनासम्म माझी भाषा पढाउने मञ्जु माझीले जानकारी दिइन् । तालिम समापन कार्यक्रमका अन्य अतिथिमा नेपाल आदिवासी जनजाति महासङ्घ रामेछापका कोषाध्यक्ष शेरबहादुर थापामगर लगायत रहेका थिए ।