Logo

रामेछाप कृषि, पर्यटन औद्योगिक प्रदर्शनी मेला सम्पन्न



रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको “रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी २०८१” सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी मेलाको समापन गरिएको हो । मेला समापन कार्यक्रमको प्रमुख अतिथि सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) रहेका थिए भने अन्य अतिथिहरुमा बागमती पदेशका सांसद तारानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, रामेछापका प्रमख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत जिल्लास्थित राजनीति दलका प्रमुख एवम् प्रतिनिधिहरु तथा सङ्घसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।

मेला समापन कार्यक्रममा प्रदर्शनीमा सहभागि भएका कृषक, उद्यमी तथा व्यवसायीहरुको मूल्याङ्कन गरी विधागत रुपमा सम्मान समेत गरिएको छ । छनोट समिति गठन गरी, छनोट समितिले मूल्याङ्कन गरी छनोट भएका १५ विधामा उत्कृष्ट कृषक तथा उद्योगीलाई नगद सहित सम्मान गरिएको थियो भने मेलामा सहभागि सम्पूर्ण कृषक, उद्यमी र व्यवसायीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

विधागत रुपमा सम्मानित हुने कृषकहरुमा जुनार र सुन्तलाजात फलफूल बिरुवातर्फ कामना फलफुल वहुउद्देश्य नर्सरी फर्मका प्रोप्राइटर शेरबहादुर तामाङ, जुनार र जुनारको जुसतर्फ जुनार एग्रो फरेष्ट प्रोसेसिङ् प्रा.लिका प्रोप्राइटर ज्ञानुदेवी वस्नेत, जुसतर्फत मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रा.लि.का प्रोप्राइटर लोकबहादुर श्रेष्ठ सम्मानित भएका छन् । त्यसैगरी मह घारतर्फ रुपाकोट मौरी पालन कृषक समूहको तर्फबाट देविन्द्र कुमार मानन्धर, दूग्धजन्य वस्तुमा रामेछाप डेरी उद्योगका उत्तरा ढकाल, बाँसको सामग्रीतर्फ शिवभक्ति बाँस उद्योगका सञ्चालक हिरामाया शिवभक्ति, ढाकातर्फ लाङ्घाली ह्याण्डी क्राफ्ट प्रा.लि.का प्रोप्राइटर शेरबहादुर थापामगर, चियातर्फ भोटनागी टि–स्टेट एण्ड एग्रिकल्चर प्रोडक्सन प्रा.लिका प्रोप्राइटर दलबहादुर पाल्पाली खड्का, नेपाली काजगतर्फत पुष्पाञ्जली नेपाली हाते कागज उद्योगका प्रोप्राइटर विश्वराम घिमिरे, किबीतर्फ शैलुङ किबी फर्मका प्रोप्राइटर कान्छी तामाङ, थान्कातर्फ लामा थान्का आर्ट उद्योगका प्रोप्राइटर पदमबहादुर लामा, अल्लोतर्फ शैलुङ अल्लो प्रशोधन उद्योगका प्रोप्राइटर भिमबहादुर थामी, आलु र आलुको परिकारतर्फ तामाकोशी एग्रोका प्रोप्राइटर हिरालाल श्रेष्ठ, दुना टपरीतर्फ मन्थली दुना टपरी लघु उद्यमी अप्सरा थापा खत्री र तरकारीतर्फ जखनी गैरी कृषक समूहका शिव कार्की सम्मानित भएका छन् ।

त्यसैगरी गायन तथा नृत्यतर्फ सामूहिक नृत्यमा लिटिलस्टार बोर्डिङ स्कूलका प्रमन श्रेष्ठसहितका टिमनै उत्कृष्ट भएको छ । त्यस्तै नृत्यमै केब्स स्कुल मन्थलीका कटिना बोहराले उत्कृष्ट पुरस्कार पाएकी छन् । त्यसैगरी गायनतर्फ लिटिल स्टार बोर्डिङ स्कुलका कुन्साङ तामाङ तथा जीवन पहरी र केब्स स्कुल मान्थलीका इस्मिका थापा उत्कृष्ट भएका छन् । नृत्य तथा गायन विधामा उत्कृष्ट भएकाहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने नृत्यु तथा गायनमा सहभागि सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

विभिन्न विधामा सम्मानित भएका कलाकार, कृषक, उद्योगी तथा व्यवसायीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङद्धारा सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्