Logo

साहाराको नाफा करिब साँढे ९ लाख



रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।
मन्थली र रामेछाप नगरपालिकालाई कार्यक्षेत्र बनाएको उक्त सहकारीले चालु आर्थिक वर्षमा २८ करोड ऋण लगानी गर्ने लक्ष्य लिएको छ । त्यसैगरी भाखा नागेका ऋण ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । उक्त सहकारीले उद्देश्य मिल्ने अन्य सहकारी संस्थासँग मर्ज गर्नको लागि पनि ढोका खुला गरेको छ । मङ्गरवार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।

साधारण सभामा साहारा साकोसले १६ करोड २१ लाख ३७ हजार ७ सय ६५ रुपैयाँ ६९ पैसा ऋण लगानी गरेको, ३ करोड २३ लाख ९७ हजार ५ सय ५ सय ५७ रुपैयाँ ९५ पैसा आम्दानी गरेको जानकारी दिइएको थियो । सो रकम अघिल्लो आर्थिक वर्षकोभन्दा ६ लाख ६२ हजार ९ सय ४२ रुपैयाँ ५५ पैसा बढी हो ।

चालु आर्थिक वर्षमा साहाराले सम्पत्ति वृद्धि गरी ३९ करोड पु¥याउने लक्ष्य लिएको छ । उक्त साकोसले सदस्यको मृत्यु भएमा प्रति मृतक ५ हजारको दरले राहत प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा २५ जना मृतकको परिवारलाई ५ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका सचिव शिशिर खड्गीको जानकारी दिए ।

करिब ५ हजारको सङ्ख्यामा सदस्य रहेको यस साकोसले १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरू प्रदान गर्दै आएको कोषाध्यक्ष चुक्तबहादुर मगरको प्रतिवेदनमा उल्लेख छ । साहारा राहत सेवा, रेमिट सेवा, मोबाइल बैंकिङ सेवा, बाल बचत सेवा लगायतका सेवा सुविधा रहेको कोषाध्यक्ष मगरले जानकारी दिए ।

साधारण सभामा जिल्ला सहकारी सङ्घका सचिव नवीन केसी, नेफ्स्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सूर्य थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाले सचिव र कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

उक्त संस्था सामुदायिक विकास समाज (सिडिएस) मा क्रियाशील सदस्यहरू र लक्षित समुदायका २७ जना मिलेर २०६२ साल माघ १३ गते स्थापना गरेका थिए । मासिक १० रुपैयाँ सङ्कलन गरी सुरु गरिएको साहारा साकोस अहिले लाखौ रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्