रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ४ लाई जोड्ने झोलुङ्गे पुल निर्माण भइरहेको छ । वडा नम्बर ३ को अर्चले र वडा नम्बर ४ को गैराथोकलाई जोड्न झोलुङ्गे पुल निर्माण गरिएको हो ।
दुई वटै वडावासीलाई वर्षातको समयमा खेतीपाती गर्न सहज होस् भन्ने उद्देश्ले बागमती प्रदेश सरकारमार्फत झोलुङ्गे पुल निर्माण थालिएको हो ।
दुवै वडाका वासिन्दालाई बर्षातको समयमा स्थानीय रणजोर खोला तरेर खेतपाती गर्न समस्या भएपछि स्थानीयको मागअनुसार पुल निर्माणको काम भइरहेको मन्थली नगरपालिका–३ का स्थानीय अम्बिकाप्रसाद भट्टराइले जानकारी दिए । मन्थली नगरपालिका–३ को अर्चले र वडा नम्बर ४ को गैराथोकवासीलाई आफ्नो खेतबारीमा जान आउन वर्खामा समस्या छ । स्थानीय रणजोर खोलामा निर्माणाधीन झोलङ्गे पुल बनेपछि दुबै वडावासीलाई खेती पाती गर्न सहजता हुन्छ, उनले भने ।
यो स्थानमा पुल निर्माणका लागि यहाँका स्थानीयले लामो समयदेखि माग गर्दै आएको थियो बल्ल अहिले पुल निर्माण सुरु भएको छ भट्टराइले भने पुल बन्न सुरु भएपछि स्थानीय खुसी भएका छन् ।
वर्षाको समयमा स्थानीय रणजोर खोलाका कारण दुबै वडाका स्थानीयलाई खेतीपाती सञ्चालन गर्न समस्या भएका कारण स्थानीयको मागअनुसार झोलुङ्गे पुल निर्माणको काम भइरहेको मन्थली नगरपालिका–३ का वडा अध्यक्ष कृष्णगोपाल थापाले बताए ।
वडाध्यक्ष थापाकाअनुसार वर्षाको समयमा रणजोर खोला तरेर स्थानीयले खेती चलान सक्दैनन् । जबरजस्ती गर्दा विगतमा स्थानीयलाई खोलाले बगाएको घटना पनि छ उनले भने– अहिले स्थानीयको माग अनुसार वडा नम्बर ३ को अर्चले र वडा नम्बर ४ को गैराथोक जोड्ने गरी पुल निर्माण काम भइरहेको छ । यसले दुबै वडाका नागरिकलाई वर्खामा खेतीपातीका लागि आउजाउमा सजिलो वडाध्यक्ष थापाको भनाइ छ ।
बागमती प्रदेश सरकारको एक करोड ७३ लाख रुपैयाँ बजेटबाट जिल्ला पुर्वधार विकास कार्यालय रामेछाप मार्फत उक्त पुल निर्माणको भइरहेको छ । २९० मिटर लम्बाई रहेको उक्त झोलुङ्गे पुल चालु आर्थिक वर्ष २०८१÷०८२ भित्रै निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम भइरहेको जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख विरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए । निर्माण व्यवसायीले तीब्र गतिमा काम गरिरहेकाले यही गतिमा काम भए सम्झौता अवधिभन्दा पहिले नै काम सम्पन्न हुने उनको भनाइ छ ।