Logo

सिन्धुलीमा किशोरी समूहबिच लोकगीत प्रतियोगिता



सिन्धुली- प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीको आयोजनामा लोकगीत प्रतियोगिता सञ्चालन गरिएको छ ।

शनिवार आयोजना गरिएको उक्त प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीमा रहेको समृद्धि किशोरी समूह प्रथम भएको छ ।

त्यसैगरी कमलामाई नगरपालिका–४ कोे उज्वलता किशोरी समूह द्धितीय भएको छ । त्यसैगरी तीनपाटन गाउँपालिका–२ कोे एकीकृत किशोरी समूहले तृतीय स्थान हासिल गरेको छ भने कमलामाइ नगरपालिका–५ को प्रगतीशिल किशोरी समूह र तीनपाटन गाउँपालिका–२ को सुनौलो बिहानी किशोरी समूहले शान्त्वना पुरस्कार जितेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, द्धितीय १५ हजार र तृतीय पुरस्कार १० हजार रुपैयाँ र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ रहेको थियो ।

किशोरी तथा युवा महिलाहरुमा सचेतना अभिवुद्धि तथा सशक्तिकरण गराउँने उद्देश्यले लोकगीत प्रतियोगिता आयोजना गरिएको जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीका उपाध्यक्ष प्रशान्त लुङ्गेलीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जेएसडिपि र प्लानले महिला बालबालिका तथा किशोर किशोरीको क्षेत्रमा उल्लेख्नीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठले किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटनका लागि अवसरको आवश्यक रहेको र त्यो अवसर जेएसडिपिले दिएको भन्दै खुसी व्यक्त गरे । मौलिक लोकसंगीत लोप हुँदै गएकाले यसको संरक्षण तथा सम्बर्धनका लागि सबैजना लागिपर्नुपर्ने उनको भनाइ छ ।

लोकगीतमा किशोरी तथा युवा महिलाहरुका लागि शिक्षाको महत्व, बालविवाह अन्त्य, महिला हिंसा, महिला सशक्तिकरणको आवश्यकता, हानिकारक सामाजिक मूल्यमान्यता र असमान शक्ति सम्बन्ध लगायतका बिषयहरु समेटिएका थिए । प्रतियोगितामा कमलामाई नगरपालिका वडा नम्बर २, ४ र ५ को ३ वटा समूह र तीनपाटन गाउँपालिक २ हिलेपानी र भिमस्थानका २ वटा गरी ५ समूहको सहभागीता रहेको थियो । जेएसडिपि सिन्धुलीका कार्यक्रम अधिकृत अर्जुन बयलकोटीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्