लिखु तामाकोशीका करिब ३ हजार नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

 शुक्रबार, मंसिर ३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका करिब ३ हजार नागरिकले समयमै सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा २ हजार ९ सय ३ जना समयमै सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हुन् ।
लिुखु तामाकोशी गाउँपालिकामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक १ हजार ८ सय १४ जना, ज्येष्ठ नागरिक दलित १ सय ४९ जना, ज्येष्ठ नागरिक एकल महिला ३ सय ६६ जना, बिधवा २ सय ९९ जना र अपाङ्ग्ता भएका ‘क’ वर्गका ४८ जना, ‘ख’ वर्गका ७३ जना र दलित बालबालिका १ सय ५९ जना रहेका छन् ।
ती सबैले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सरकारले श्रावण महिनाबाट लागू हुने गरि सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको थियो भने ज्येष्ठ नागरिकले यसअघि तीन हजार रुपैयाँ पाउँदै आएकामा एक हजार रुपैयाँ वृद्धि गरि चार हजार रुपैयाँ पु¥याएको थियो ।
जिल्लाको अन्य पालिकाले श्रावण, भदौँ र असोज महिनाको सामाजिक सुरक्षा भत्ता केहीले दशैँ अघि त केहीले दशैतिहारको बीचमा वितरण गरिसकेका छन् । तर, लिखु तामाकोशी गाउँपालिकाले भने अहिलेसम्म पनि चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन ।
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले भने भौगोलिक विकटताका कारण समयमै बृद्धबृद्धाले बैंक खाता खोल्न नसकेका कारण समयमा भत्ता वितरण गर्न नसकिएको बताए ।
कोरोना महामारी र बंैकको असहयोगको कारण आफूहरुले समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको अध्यक्ष खड्काले बताए । अबको १५÷२० दिनभित्र भत्ता वितरण गरिसक्ने पनि उनले बताए । जनप्रतिनिधिहरुको विवादका कारण गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको भनेर सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नभएको पनि उनले जकिर गरे ।
तर, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश रायले भने गाउँपालिकाको अधिवेशन हुन नसकेका कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बताए । उनकाअनुसार पालिकाले चालू आर्थिक वर्षको बजेट समेत पारित गर्न सकेको छैन ।

Share this

प्रतिकृया

Add