इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा किङ्ग्स एलाभेन पञ्जाव विजयी भएको छ । दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै पञ्जाव, तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
दिल्लीको भने यो दोस्रो हार हो । चार खेलको समाप्तिमा पञ्जावको ६ र दिल्लीको ४ अंक छ । १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ वल अगावै १ सय ५२ रनमा समेटियो । १ सय ४४ रन जोड्दा ४ विकेट गुमाएको दिल्लीले त्यसपछिको सवै विकेट, ८ रन जोड्न खर्चिएको थियो । मध्य र पछिल्ला क्रमका ब्याट्सम्यानहरु नाटकीय रुपमा पभेलियन फर्किएपछि जितको नजिक पुगेर पनि दिल्ली पराजित हुन पुग्यो । रिसब पन्तले ३९ रन बनाएको ईनिङसमा कोलिन ईन्ग्रामले ३८, शिखर धवनले ३० र कप्तान श्रेयस ऐरले २८ रन बनाए । दिल्लीका ४ ब्याट्सम्यान गोल्डेन डकआउट भएका थिए । दिल्लीलाई सामान्य स्कोरमा समेट्न साम कुरानले ४ तथा कप्तान रबिचन्द्र आश्विन र मोहम्मद सामीले समान २ विकेट हात पारे । यसअघि मोहालीमा पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि डेभिड मिलरले ४३, सर्फराज खानले ३९ र मन्दिप सिंहले २९ रनको योगदान गरे । क्रिस मोरिसले पञ्जावको ३ विकेट लिए । सन्दिप लामिछाने र कासिगो रावाडाको नाममा समान २ विकेट रह्यो । सन्दिपले आफ्नो स्पेलमा २७ रन खर्चदै २ विकेट हात पारेका हुन् ।