Logo

कविताः ‘लड सिपाहि लड’



लड्नको निम्ती तिमी भर्ति भाको होउ
तिमीले लड्नै पर्छ
नेपाल आमाको कसम खाको छौ
अनि माटोको पनि त खाको छौ ।
त्यसैले तिम्ले लड्नै पर्छ ।

हातमा बन्दुक बोकेको छौ
तर,
अदृश्य कोरोना सँग लड
भूकम्पसँग लड
बाढी पहिरोसँग जुध
तस्करहरुसँग लड
हिउ जङ्गलसँग लड
बैरी दुस्मनसँग लड
लड्न चाही लड ।

संकटको घडीमा
डाक्टर पनि तिमी
इन्जिनियर पनि तिमी
ड्राइभर, पाइलट पनि तिमी
निमुखा मुहारहरुको
आशाको त्यान्द्रो तिमी
त्यसैले लड सिपाहि लड
अग्र मोर्चामै बसेर लड ।

तिमी भोकै बसेनी हुन्छ
खानै पर्छ भन्ने नि त केहि छैन नि
धुलो, धुवा अनि ढुङ्गा, लाठी
खाए नि हुन्छ ।
तिमी त तालिम प्राप्त छौ
आगोले पोल्दैन तिम्लाई
बाढिले बगाउदैन,
न घामले पोल्छ,
अनि अदृश्य भाइरसले पनि त कहा छोला र ?

तिमीलाई सुरक्षा कवच चाहिदैन
अरुलाई नपुगी तिम्लाई दिइन्न पनि
अरुले भत्ता खान्छन
तालपरे तिमीले लात्ता नि खान्छौ
तर तिमी कहिल्यै गुनसो गर्दैनौ
किन कि तिम्लाई अनुशासन सिकाइएको छ
सेवा सुविधा भन्दा कर्म ठूलो भन्ने नि थाहा छ
त्यसैले केहि गुनासो नगर सिपाहि तिमी
यो तिम्रो गुनासो गर्ने बेला नि हैन
तिम्ले कर्म गर्ने बेला हो
ज्यान जोखिममा राखेर भएनी
त्यसैले लड तिमी, मज्जाले लड ।

सुखमा यहाँ तिमी माथि चौतर्फी आक्रमण हुन्छ
दःख पर्दा अग्रभागमा उभिएर तेस्को गुण तिर्छौ
अझै पनि तिम्लाई जस छैन
किन कि तिमी अपजसे हौ
तिम्ले जस लिन सेवा गरेको पनि त हैन नि
त्यो त तिम्रो धर्म हो
सेवा हो अनि कर्म हो ।
आफ्नो कर्म कहिले नछोड
मर्नदेखि नडराउ सिपाहि
तिमी लड अग्रभागमै बसेर लड ।

घर परिवार बिर्स तिमीले
परिवार भन्दा ठूलो देश हो
तिम्रो ब्यक्तिगत दुःख सधै पछि
तिमी छौ यहाँ साराका सुख खातिर
त्यसैले, बिर्सिदेउ बालखा छोरो
भुलिदेउ बृद्ध बाउआमा
न तिमीलाई चाडपर्व आउछ
न त सुख सयल
सारा जनको सुख नै तिम्रो सुख हो
त्यसैले यो सब भुलिदेउ
अनि लड यो देश बचाउन
लड सिपाही लड ।

तिमीले नाई भन्न पाउदैनौं
सक्दिन भन्न नि पाउदैनौ
जान्दिन भन्ने छुट नि छैन
न त तिम्ले बाहना बनाउन मिल्छ
तिमीलाई यहाँ आदेश आउछ, अनुरोध हैन
त्यसैले तिमी जानिनजानी
सकि नसकी लड्नै पर्छ
अनि जित्नै पर्छ
त्यसैले लड तिमी लड ।

कविः नवमानसिं बस्नेत  नेपाली सेनामा कार्यरत हुनुहुन्छ । मितिः २०७६–१२–१६

प्रतिक्रिया दिनुहोस्