Logo

कार्यवाहक वडाध्यक्षको रबैया, सेवाग्राहीलाई तथानाम गाली



 

कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङ र स्थानीय दिपेश बुढाथोकीबिच भएको सम्वादको अडियो

रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ का कार्यवाहक वडा अध्यक्ष खिरलाल तामाङले सेवाग्राहीमाथि आफ्नो रबैया देखाएका छन् । मन्थली नगरपालिका–७ खारपानीमा पहिरोले सडक अवरोध गरेपछि सडकको पहिरो पन्छाउन नगरपालिकाको डोजर पठाइदिन माग गर्दा स्थानीयमाथि तथानाम गाली गरी कार्यवाहक वडाध्यक्ष तामाङले आफ्नो रबैया देखाएका हुन् ।

वडाको खारपानी भन्ने ठाउँमा सडकमाथिबाट पहिरो झरेर सडक अवरुद्ध हुँदा बालबालिकाहरुलाई विद्यालय जान समेत जोखिम भएपछि मन्थली नगरपालिकाको जोडर ल्याएर सडकको पहिरो पन्छाइदिन स्थानीय दिपेश बुढाथोकीले कार्यवाहक वडाध्यक्ष तामाङलाई अनुरोध गरेका थिए । विद्यालय जाने क्रममा पहिरोका कारण एकजना विद्यार्थीको हातसमेत फ्याक्चर भएपछि सडकको पहिरो हटाइदिन अनुरोध गर्न कार्यवाहक वडाध्यक्ष तामाङलाई फोन गर्दा आफूलाई उल्टै तथानाम गाली गरेको स्थानीय दिपेश बुढाथोकीले बताए ।

उक्त पहिरो कटेर स्थानीय नवचन्द्र आधारभूत विद्यालय र कपिलेश्वर आधारभूत विद्यालयमा बालबालिकाहरु पढ्न जानुपर्छ, पहिरोका कारण बालबालिकाहरुलाई विद्यालय जानसमेत जोखिमपूर्ण अवस्था छ, बुढाथोकीले भने । गाउँमा बिरामी पर्दा एम्बुलेन्ससम्म जान सक्ने अवस्था नभएकाले सडक खुलाइदिन कार्यवाहक वडाध्यक्षलाई फोनमार्फत अनुरोध गर्दा उल्टै आफूमाथि गालीबेइज्जती गरेको बुढाथोकीको भनाइ छ । गाउँको विकास गर्लान्, स्थानीय नागरिकको दुःखमा साथ देलान् र वडावासीले सहज रुपमा सेवा सुविधा पाउलान् भनेर निर्वाचित गराएर पठाएको जनप्रतिनिधिले उल्टै स्थानीय नागरिकमाथि अन्याय गरेको बुढाथोकीको गुनासो छ ।

कार्यवाहक वडाध्यक्ष र स्थानीय दिपेश बुढाथोकीबिच भएको दोहोरो फोन सम्वादमा अपशब्दहरु प्रयोग गरी गाली गरेको सुन्न सकिन्छ । तामाङ र बुढाथोकी दुवै जना आवेगमा आएर एकअर्कालाई चर्को स्वरमा गाली गरेको सुन्न सकिन्छ । सडक सफा गर्न डोजर पठाइदिन अनुरोध गर्दा कार्यवाहक वडाध्यक्ष तामाङले आफूलाई एक्कासी अपशब्दले गाली गरेपछि आफूले पनि आवेगमा गाली फर्काएको बुढाथोकीको भनाइ छ । बुढाथोकीले भने, डोजर फठाइदिन अनुरोध गर्दा कार्यवाहक वडा अध्यक्षले मलाई तनाथाम गाली गर्न थालेपछि मैले पनि आवेगमा केही गाली गर्न पुगेछु । तर उहाँले पहिला गाली गरेपछि मैले पनि सहन नसकेर गाली गरेको हूँ ।

कार्यवाहक वडाध्यक्ष खिरलाल तामाङले पनि आफूले गाली गरेको स्वीकार गरेका छन् । उनले भने, डोजर पठाइदिनु भनेर तीन चार दिनदेखि मलाई पटक पटक फोन गरेर धम्क्याइरहेको थियो, त्यही भएर मैले पनि गाली गरिदिएँ । डोजर पालो मिलाएर पठाइदिन्छु भन्दाभन्दै पनि दिनै फोन गरेर दबाव दिइरहेपछि मैले गाली गरेको हूँ, सबै समस्या टार्ने ठेक्का मेरो होइन, कार्यवाहक वडाध्यक्ष तामाङले भने । सानो समस्या पर्दा पनि वडा कार्यालयले गरिदिनुपर्यो भन्दै आउँछन् । सबैको समस्याको ठेक्का त मैले लिएको छुइँन नि, उनले भने ।

प्रतिक्रिया दिनुहोस्