९ कार्तिक, रामेछाप– ग्रामिण क्षेत्रमा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीका बुद्धिबहादुर सुनुवारले करोडको हाराहारीमा लगानी गरिसकेका छन् ।
खेलकुद क्षेत्रको विकासबाट समृद्ध राष्ट्र निर्माणमा सहयोग पुग्ने भन्दै ग्रामिण भेगको खेलकुद क्षेत्रको विकासमा सरकारको उदासिनताको कारण नेपालको खेलकुदमा अपेक्षा अनुसारको विकास हुन नसकेको सुनुवारले बताए ।
सरकारले ग्रामिण क्षेत्रमा खेलकुदक विकासको लागि साखै लगानी नगरे पनि खेलकुदको माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने धेरै आधारहरु भएकाले ग्रामिण क्षेत्रको खेलकुदलाई विकास गर्ने उद्देश्यले आफूले खेलकुलको क्षेत्रमा लगानी गरेको सुनुवारको भनाई छ ।
बृटिश आर्मी समेत रहेका उमकुण्ड गाउँपालिका–७ भुजीका बुद्धिबहादुर सुनुवारले सुविधा सम्पन्न खेल मैदान बनाउने योजनाका साथ अमृत घामछाँया नाम दिएर भूजीमा खेल मैदान र खेलाडीको विकासको लागि वर्षौदेखि लगानी गर्दै आएका छन् ।
२१ वर्ष अघि आफ्नै नाउँमा रहेको पाखो जग्गालाई सम्याएर खेल मैदान बनाएका सुनुवारले खेल मैदानलाई ब्यवस्थित बनाउनकै लागि पटक–पटक गरि ३५ लाख भन्दाबढी खर्च गरिसकेका छन् ।
९ वर्ष अघि सुनुवारकै सहयोगमा भुजी लिगको स्थापना गरि यस वर्ष भुजी लिगको ९ औं संस्करण समेत सम्पन्न भइसकेको छ । आफूले स्थापना गरेको भुजी लिगको परिणाम राम्रो हुँदै गएपछि लेखको क्षेत्रमा लगानी गर्न सुनुवार अझ उत्साहित भएका छन् ।
सधै खेल क्षेत्रको विकास देख्न चाहने सुनुवारले लिखु–भुजी रामेछाप युवा क्लबको नाममा स्थानीय मूल्य अनुसार ५५ लाख बराबरको ६ रोपनी १० आना जग्गा शुक्रबार जिल्ला मालपोल कार्यालयबाट नामसारी गरिदिएका छन् ।
त्यसबाहेक समाजसेवी सुनुवारले भुजी लिग रनिङ शिल्डको लागि आवश्यक बजेटको व्यवस्था गर्दै आएको लिखु भुजी रामेछाप युवा क्लबका अध्यक्ष शेरकुमार सुनुवारले जानकारी दिए । युवाहरु सबै विदेश पलाएन भएर गाउँनै खाली हुँदै गइरहेको अवस्थामा करोडौ खर्च गरेर ग्रामिण भेगको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याइरहेका सुनुवारको सरकारले उच्च मूल्यांकन गर्नुपर्ने क्लबका अध्यक्ष शेरकुमारको भनाई छ ।