२९ कार्तिक, रामेछाप– दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले दोरम्बा गाउँपालिकाको बेरुजु नरहेको तर पहिला गाविस हुँदाको बेरुजु रहेकाले त्यो बेरुजु गाउँपालिकाले नतिर्ने बताए । गाविस हुँदाको बेरुजु गाउँपालिकाले तिर्नुपर्छ भने बेरुजु राख्ने तत्कालिन सचिवहरुलाई गाउँपालिकामा हारिज गराउनु पर्ने बताए । उनले भने– खाएको विष लाग्छ नखाएको विष लाग्दैन, बेजुरु गाउँपालिकाको होइन त्यसकारण स्थानीय सरकार गठन हुनु पहिलेको बेरुजु हामी तिर्दैनौं ।
गाउँपालिका अध्यक्ष मोक्तानले पालिकाको दोरम्बामा सार्वजनिक जग्गामा निर्माण गरिएका घरहरु भत्काइने बताए । दोरम्बालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सार्वजनिक जग्गामा निर्माण भएका सबै घरहरु भत्काइने उनले बताए ।
सुकुम्बासीलाई बासको ब्यवस्था गर्नु सरकारको दायित्व भएको भन्दै दोरम्बाको सार्वजनिक जग्गामा घर बनाउनेहरु सुकुम्बासी नभई सबै हुकुमबासी भएको अध्यक्ष मोक्तानको भनाई थियो ।
आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाले प्रवाह गरेको सार्वजनिक सेवा तथा विकास निर्माण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष मोक्तानले यस्तो बताएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष मोक्तानले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अपुग भएका शिक्षकहरुको ब्यवस्था गर्ने पनि बताएका छन् ।
दोरम्बा गाउँपालिकाले शैलुङ्ग महोत्सवले पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महोत्सवलाई पालिकाको उपलब्धिको रुपमा उल्लेख गरिएको छ । त्यसैगरी दोरम्बा गाउँपालिका अन्तर्गत ४ वटा वडा कार्यालयहरुको भवन निर्माण भएको, वडा नम्बर २ मा १५ शै्ययाको अस्पताल निर्माण गरि अस्पतालको लागि आवश्यक उपकरणहरु तथा एम.बी.बी.एस. डाक्टरको ब्यवस्था गरि सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलद्धारा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा विद्युतीय हाजिरीको ब्यवस्था, माध्यमिक विद्यालयहरुमा सीसी टिभी क्यामेराद्धारा निगरानी र अनुगमन गर्ने ब्यवस्था मिलाइएको पनि सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइएको छ ।
गाउँपालिकाको मुख्य मार्गको रुपमा रहेको गाल्वा, दोरम्बा, टोकरपुर, गुन्साल, लखनपुर सडकलाई हिउँद बर्खानै सञ्चालन गरिएकोे, शैलुङ्गसम्म पुग्ने सडकको स्तरोन्ती गरि पर्यटन विकासमा योगदान पु¥याएको पनि गाउँपालिकाले जनाएको छ ।
कृषि क्षेत्रको प्रवद्र्धनको लागि २३ जना कृषकलाई आर्थिक साँझेदारीमा हाते ट्याक्टर वितरण, ६५ कृषकलाई ड्रम वितरण, एक हजार ७५ कृषिकलाई मकैको बिऊ वितरण, २ सय ८२ कृषकलाई किबीको बिरुवा वितरण र २ सय कृषकलाई कागति र सुकुमेलको बिरुवा प्रदान गरिएको पनि गाउँपालिकाले जानकारी दिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै दोरम्बा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले गत आर्थिक वर्षमा आन्तरिक आयतर्फ २४ लाख ७४ हजार आम्दानी भएको जानकारी दिए ।
गत आर्थिक वर्षमा गाउँपालिकामा पूँजिगततर्फ ४ सय २० वटा योजना सञ्चालन भएकोमा १८ वटा योजनाहरु पुरा हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाले कर दस्तुरबाट २४ लाख ७४ हजार ५ सय २६ रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी खर्चतर्फ पूँजिगत खर्चतर्फ २ करोड २९ लाख ७ सय ४६, चालु खर्च ३ करोड २२ लाख ९२ हजार ४ सय २२, विकास पूर्वाधार कार्यक्रमतर्फ विनियोजित रकम १ करोड ३८ लाख ७५ हजार मध्येबाट १ करोड २८ लाख ३२ हजार ५ सय ९७ रुपैयाँ खर्च भएको पनि रेग्मीले जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा सहभागिहरुले उठाएको प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष कमान सिं मोक्तन, उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी र सम्बन्धित वडा अध्यक्षहरुले दिएका थिए । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गुगल ब्यवसायि कन्सल्टेन्सी मन्थलीले गरेको थियो ।