Logo

गोकुलगंगामा ईमान परियोजनाको अभिमुखिकरण



Share this

रामेछाप- जिल्लाको गोकुलगंगा गाउँपालिकाको रस्नालुमा मातृ शिशु स्वास्थ्य सुधार परियोजना (इमान) को अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
स्वास्थ्य सुधार सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार रामेछापद्धारा अमेरिकेयर्सको आर्थिक सहयोगमा सञ्चालित मातृशिशु स्वास्थ्य सुधार परियोजना (ईमान) ले पालिका स्तरिय परियोजना अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।।
नवजात शिशु तथा मातृ स्वास्थ्यमा केन्द्रित रहेर एक वर्षे पाइलट परियोजनाको रुपमा सञ्चालन हुने कार्यक्रमको पालिका स्तरका सरोकारवालाहरुसँग समन्वय तथा सम्बन्ध विस्तार गर्ने र कार्यक्रमको बारे सल्लाह सुझाव संकलन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले परियोजना राम्रो लागेको प्रतिक्रिया दिँदै नेपाल सरकारको विकास लक्ष्य पुरा गर्न सहयोग गर्न आएका संस्थाहरुसँग गाउँपालिकाले हातेमालो गर्ने बताए ।
गाउँपालिकाको केन्द्रमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन लागिएकोले त्यसले गाउँपालिकाको र पालिका भित्रका स्वास्थ्य संस्थाको सवलिकरणमा पनि सहयोग पुग्ने अध्यक्ष सुनुवारको भनाई छ ।
कार्यक्रममा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका परियोजना प्रबन्धक विन्देश्वर थापा मगरले रामेछाप जिल्लामा मातृशिशु स्वास्थ्यका सूचक तथा तथ्यांकहरु समग्र नेपालकै भन्दा कमजोर रहेको बताए ।
नेपाल सरकारले निर्धारण गरेको दिगो विकास लक्ष्य २०३० पुरा गर्ने चुनौती सामना गर्न कमै मात्र संस्था जिल्लामा काम गरिरहेकोले अमेरिकेयर्सको सहयोगमा मातृशिशु स्वास्थ्य सुधार परियोजना सञ्चालन गर्न लागेको उनले बताए ।
परियोजना अन्तर्गत मातृशिशु स्वास्थ्य सुधारका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाको सवलिकरण गर्न सहयोग गर्ने र स्वास्थ्य सेवा उपभोग बढाउन स्वास्थ्य स्वयंसेविका तथा आमा समूहको सवलिकरण गर्न सामाजिक परिचालन तथा आम सञ्चारको माध्यमबाट जनचेतना फैलाउने कामहरु गर्ने अमेरिकेयर्स नेपालका कार्यक्रम संयोजक आनन्द मोहन रायको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्षहरु, गाउँपालिकाका स्वास्थ्य हेर्ने कर्मचारीहरु एवं स्वास्थ्य चौकी इञ्चार्जहरु र गाउँपालिकामा कार्यरत स्वास्थ्यसँग सम्बन्धीत संघ संस्थाका प्रतिनिधिहरु गरी २८ जनाको सहभागिता रहेको थियो ।
यस परियोजना रामेछापको खाँडादेवी र गोकुलगंगा गाउँपालिकामा सञ्चालनको क्रममा रहेको छ । सोही परियोजना अन्तर्गत खाँडादेवी गाउँपालिकामा भने अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

Share this
प्रतिक्रिया दिनुहोस्