Logo

घाम तापेर दिन बिताउने मलाई वित्तीय साक्षरता कक्षाले कमाउन सक्ने बनायो : ऋतु थापा



नवलपरासी- सानै उमेरमा विवाहबन्धनमा बाँधिएकी ऋतु थापा नवलपुर जिल्ला कावासोती नगरपालिका–१ रिट्ठेपानीमा बस्छिन् । उमेरले भर्खरै २८ वर्ष पूरा भएकी ऋतुको छोरा गाउँकै स्कुलमा कक्षा ३ मा पढ्छन् । ३ जनाको परिवार भएपनि ऋतुको परिवारले कहिल्यै पनि सोचेझैँ लाउन र मनले मागेको खान पाएन । ऋतुको परिवारमा खेतीपाती गर्न जग्गा जमिन थिएन । ३ जनाको परिवार भएपनि आम्दानीको श्रोत नहुँदा घर व्यवहार चलाउन हम्मेहम्मे भयो उनलाई । श्रीमानको पनि दुई पैसा आउने बाटो थिएन । घरमा आम्दानीको श्रोत नहुँदा आफन्त पनि बैरीझैँ हुने रहेछन् भन्ने लाग्छ ऋतुलाई । समस्याका बेला हारगुहार गर्दा समेत आफन्तले साथ नदिएको तितो अनुभव छ, ऋतुसँग । पैसाको अभावको नाम्लोले जिम्मेवारीको थाप्लो किचिदिएपछि श्रीमानले विदेशको सपना बुन्न थाले । छोरो हुर्कदैै गएपछि परिवारको पेटसँगै छोराको पढाई लेखाइमा लाग्ने खर्चको चिन्ताले हरेक रात लामो लाग्न थाले ऋतुलाई पनि ।
साथमा भएका श्रीमानलाई विदेश पठाउन कस्को रहर हुन्छ र ? श्रीमान विदेश जान्छु भन्दा मन अमिलो हुन्थ्यो । सानो छोरालाई साथी बनाएर घर बस्नु पर्दाको क्षण सम्झँदा पनि दिन कसरी बित्लान्जस्तो लाग्थ्यो ऋतुलाई । विदेश जाने भनेपछि गाउँकै साहुले चर्को व्याजमा ऋण पत्याए । ऋण लिएको पैसाले ४ वर्ष अघि ऋतुकी श्रीमान ओमान छिरे । श्रीमान विदेशिएपछि ऋतुका लागि हरेक दिन एक्लो भएरै बिते ।
ऋतुको श्रीमान ओमनमा पसिना बेच्दै थिए । पसिना बेचेर परिवारको सपना किन्न थालेका श्रीमानले घरमा पैसा पठाउन थालेपछि बल्ल ऋतुको जीवन सजिलो हुँदै गयो । आम्दानी धेरै हुँदै गएपछि खर्च बढ्दै जान थालेको अनुभव छ ऋतुसँग । श्रीमानले पठाएको पैसाबाट घर त चलेको थियो नै । त्यही पैसाले मेरो र छोराको लागी दुईचार जोर लुगा अनि छोराको खेलौना थपिए । पैसा भएपछि चाडपर्व खर्चिलो हुने अनि गोजीमा पैसा भएपछि घुमफिरका लागि निस्कन मन लाग्ने आदत बस्यो ऋतुलाई । श्रीमानले महिनैपिच्छे ४० देखि ५० हजारसम्म पठाएपनि महिना मरेपछि हिसाब गर्दा कहिले हिसाब पुर्याउन सक्दैनथिइन् उनले ।
ऋतुको मनमा श्रीमानले पठाएको पैसा बचत गर्नुपर्छ भन्ने सोच पलाएन । जसको कारण कहिले कँहि श्रीमानसँग खटपट समेत हुन्थ्यो उनले सुनाइन् । श्रीमानसँग जति रातोमुख गरेपनि पैसा पठाउन भने छाडनु भएन र मेरो खर्च गर्ने बानीमा पनि सुधार आएन ऋतुले भनिन् ।
विदेशबाट पैसा आयो; खायो अनि खर्च गर्ने पैसाका लागि फेरी श्रीमानले पैसा पठाउने दिन गन्यो । यसैगरी चल्दैथियो ऋतुको दैनिकी । गाउँमा वैदेशिक रोजगारीका लागि जाने अनि विदेशबाट पठाएको पैसा बुझिलिने परिवारको सदस्यको लागि बित्तीय साक्षरता कक्षा चल्ने भन्ने सुनिन् ऋतुले । उनले पनि कक्षामा नियमित रुपमा सहभागी हुने इच्छा राखिन् । सामी कार्यक्रम अन्र्तगत नगरपालिकाले चलाएको कक्षाका लागि डिप्रोक्स नेपालले प्राविधिक सहयोग गरेको कुरा थाहा पाइन् । कक्षामा बसेपछि भने बल्ल ऋतुको जीवनबाट खर्च ऋतु फेरिएर बचत ऋतुको सुरुवात भएको बताउँछिन् उनी ।


कक्षामा जान थालेपछि ऋतुको बानी फेरियो । घर खर्चका लागि श्रीमानको कमाइमा मात्र भर पर्ने ऋतुले विदेशको कमाइ दुःखको कमाइ हो भनेर बुझ्न पाइन् । विदेशमा दुःखले कमाएको पैसा जथाभावी खर्च गर्दा फेरि पहिलेझैँ अभावका दिन काट्नुपर्ने रहेछ भन्ने महसुस गरिन् ऋतुले । आर्थिक रुपमा कमजोर हुनेलाई ‘मरेको भैसीलाई जुम्राले छोडे’ जस्तै आफन्तले पनि छोड्छन् भन्ने अनुभव गरेकी उनले आफूलाई बदल्ने अठोट गरिन् । कक्षामा छलफल भएका हरेक कुरालाई ऋतुले आफ्नो जीवनमा उतारिन् । उनले श्रीमान विदेश जाँदा तयार गरेका सबै कागजपत्र घरमा सुरक्षित रुपमा राखेकी छन् भने कक्षामा जान थालेदेखि विदेशबाट पैसा पठाएको मिति अनि आएको सबै पैसाको हिसाब टिपेर राख्न थालिन् । ऋतुले भविष्यका लागि भनेर वित्तीय लक्ष्य तयार गरेकी छन् । उनका वित्तीय लक्ष्यभित्र छोराको उच्च शिक्षा, आफू बस्ने सुन्दर घर अनि आफ्नै ठाउँमा व्यवसाय गर्ने कुरा समेत अटाएको छ । वित्तीय लक्ष्य पूरा गर्नका लागि उनले अनावश्यक रुपमा हुने खर्च कटौती गरी बचत गर्न सुरु गरेकी छन् । खर्च घटाउन छोराले स्कुलमा खाने खाजा समेत घरमै पाक्ने गरेको छ, आजकल ऋतुको । यसरी एकाएक श्रीमतीको बानी सुध्रिएको देखेर विदेशमा बस्ने श्रीमान पनि दङ्ग पर्नुभएको छ, ऋतुले भनिन् ।
बित्तीय लक्ष्य बनाएपछि ऋतुलाई चिन्ता थपियो । श्रीमानको कमाइले मात्र भविष्यका सपना पूरा हुन नसक्ने देखेपछि ऋतुलाई पनि केही गरौँ भन्ने लाग्यो । हातमा सिलाउने भन्दा बाहेक अन्य सीप थिएन । गाउँमा अरुले टेलर चलाएको र कमाइ पनि खासै नहुने देखेपछि उनको सीप प्रयोगमा आएन । अब कमाउनका लागि टेलर भन्दा बाहेक के गर्ने भन्ने अन्यौलता थपियो । तर उनको श्रीमानसँग सल्लाह लिएर ३० हजार रुपैयाँ लगानी गरेर किराना पसल सूरु गरिन् । ऋतुको लागि व्यापार, अपार बन्दै गयो । व्यापार बढ्दै गएपछि उनले पसलमा सामान थप्दै गइन् । अहिले उनको पसलमा ५ लाख भन्दा बढि मूल्यको सामान छन् । उनको पसलबाट दैनिक ३ देखि ५ हजारसम्मको सामान बिक्री हुने गरेको छ । यसरी भएको दैनिक बिक्रीबाट मासिक ६० देखि ७० हजारसम्म नाफा हुने बताउँछिन् ऋतु ।
इच्छा भए उपाय कति कति ? भने झैं ऋतुले किराना पसलमा आफूसँग भएको लुगा सिलाउने मेसिन पनि राखिन् । किनमेलका लागि पसलमा आउनले सिलाइको समेत काम लिएर आउने गरेको बताउछिन् उनी । जसले उनलाई कमाउने बाटो थपिदिएको छ भने गाउँलेलाई पनि सजिलो भएको छ । अहिले लुगा सिलाएर आपूmले कमाएको पैसाले आफ्नो नाममा दैनिक ५ सय रुपैयाँ सहकारीमा र अन्य संस्थामा आमा छोराको नाममा मासिक ३ हजार १ सय रुपैंयाँ बचत गर्दै आएकी छन् ऋतुले ।
यसरी श्रीमानको कमाइमा भर पर्नु पर्ने ऋतुलाई आफूले पनि कमाउन सकिन्छ भन्ने लागेको थिएन । दिनभरी घरमा बस्ने उनलाई बित्तीय साक्षरता कक्षाले पसल दिएको छ । दैनिक रुपमा घरमा हुने खर्च त पुगेको छ नै । भविष्यमा परिवारको वित्तीय लक्ष्य पूरा गर्नका लागि श्रीमानले विदेशमा कमाएको पैसा मेत पूरै बचत गरेकी छन् । उनी भन्छिन्, हाम्रो गाउँमा कार्यक्रम सञ्चालन गरिदिएकोमा कावासोती नगरपालिकालाई धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्