मनिका सुनुवार
वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । दुई चार पैसा कमाउँला, ऋण तिरौंला, घर बनाउँला, बालबच्चाको भविष्य राम्रो बनाउँला अनि परिवारमा हाँसी खुसी रहौंला यस्तै यस्तै सपना बोकेर घर छाड्नेको संख्या दिनदिनै बढिरहेको छ ।
केहि वर्ष परदेशमा बसेपछि कतिपयका यी सपना पुरा हुन्छन् । तर कतिपय समस्या थपेर फर्किन्छन् । सबैका लागि परदेश सोचे जस्तो हुँदैन । अनि, खाडीमै सकिन्छन् धेरैका मिठा सपना । सहज सम्झीएर बाटो लागेका उनीहरुको परिवारमा थप जटिलता आर्थिक रुपमा मात्रै थपिंदैन अन्य असर पनि देखिन थाल्छ ।
विदेश जानेले फेसबुकमा पोष्ट गरेका तस्विर जस्तो छैन परदेश । यसको अर्थ विदेश जाने परिवार र गएका व्याक्तिहरु सबैलाई समस्या छ भन्ने चाही हैन ।
यता परिवारको अवस्था पनि उस्तै हुन थाल्छ । आर्थिक अवस्था कमजोर, काम गर्ने बल भएका सदस्य परदेश । त्यसपछि घरमा हुनेले दैनिक खर्चका लागि समेत परदेशीको भर पर्नुपर्ने र एउटाको कमाइले परिवार धान्नुपर्ने बाध्यता सुरु हुन्छ ।
यता आफन्त परदेश गएपछि खासगरि महिलाका लागि अरु बन्धन थपिन्छन् । जसका श्रीमान विदेशमा छन्, उनीहरुले हिँड्दा, बस्दा, खाँदा पुरुषसँग जोडिदिन थाल्छ समाजले । बुहारी भएकाहरुलाई त घरकै सासु ससुरा आफतले नै अनेक लान्छना लगाउन थाल्छन् । जसका कारण चाहेर पनि अरुको सहयोग लिन सक्दैनन् महिलाले ।
घरमा बालबच्चाले बुवाको माया पाउँदैनन् । आमाले भनेको नमान्ने, विद्यालय जान नमान्ने, बिचमै पढाई छाड्ने, बुवा साथमा नहुँदा न्यास्रो हुने जस्ता अरु समस्या देखिन्छन् ।
धेरै नेपाली विदेशमा लामो समयदेखि अलपत्र छन् । आफ्ना पुरुष विदेशमा अलपत्र पर्दा तीनका श्रीमतीलाई कस्तो पीडा हुन्छ होला ! अनुमान गर्न गाह्रो छैन ।
परदेशमा विरामी हुँदा होस् वा दुर्घटनामा पर्दा । गाह्रो काम पर्दा, भनेको काम र तलव नपाउँदा नै किन नहोस् । त्यसको असर परिवारका अन्य सदस्यले पनि खेपेका हुन्छन् । तर त्यो कसैले देख्दैनन् ।
आफन्तसित छुट्टिनु पर्दाको पीडा त छँदैछ । त्यहाँ माथी अनेक आरोप र कष्ट सहेर कसरी बस्दा हुन् ? यतातिर सोच्दैन समाज ।
यसो भन्दै गर्दा सबैका समस्या यी मात्रै हैनन् । परदेशमा हुनेले पनि समस्या भोगेका छन् । कतिपय पैसा पठायो आउँदा न परिवार न त खर्च पनि भएका छन् । कतिपयको आर्थिक लापरबाहीकै कारण घर झगडापनि भएको छ । सामाजिक समस्या बढ्दा छन् ।
एकअर्कामा विश्वास नगर्ने, अरुको कुरा सुन्ने वास्तविकतै नबुझी निर्णय लिँदा पारिवारिक विखण्डन बढ्दो छ । पीडितले आफ्ना कुरा राख्ने अवसर पनि पाउँदैनन् । यी त अरुले पनि देख्ने समस्या भए । लुकेका पीडा कति होलान् !
हुन त राष्ट्र बैंकको तथ्याँकले विदेशमा काम गर्नेले प्रतिव्यक्ति झण्डै ४४ हजार रुपैयाँ मासिक कमाएको देखाउँछ । यो समग्रमा हो । यसमा बुझ्नु पर्ने केहिले लाखौं कमाउँदै गर्दा केहि जाँदा म्यानपावर र दलाललाई दिंदा काढेको ऋण तिर्न नसक्ने अवस्थाका पनि छन् ।
यस्ता परिवारको पीडा कस्तो होला । यीनका मनमा कति पीडा लुकेका होलान् ! मनोसामाजिक समस्या ( तनाब बढी हुने, कसैमा रिस बढी हुने, झर्को लाग्ने, खान मन नलाग्ने, निन्द्रा नलाग्ने, नराम्रो–नराम्रो विचारहरु आउने, आफु जस्तो दुखी कोही छैन जस्तो लाग्ने, आफ्नो व्यवहार देखि आफैलाइ दिक्क लाग्ने जस्ता संकेत) दिनदिनै बढ्दो छ । मानसिक रोग निम्तिएको छ । कतिपयले त सहन नसकेर आत्माहत्या समेत गरेका छन् । के यी हामीले वैदेशिक रोजगारका नाममा गुमाएका कुरा हैनन् र ? तर समाज यस्तालाई सहयोग गर्न, बचाउन होइन घृणा गर्न थाल्छ । यो राम्रो हुनै सक्दैन । यस्तो मनोसामाजिक समस्यामा परेकालाई सबैले सहयोग गर्नुपर्छ । जसले परिवार धानेर बसेका छन् तीनका परदेशीले मात्रै होइन समाजले पनि उनीहरुलाई पीडा होइन खुसी दिनुपर्छ । हतोत्साह होइन प्रोत्साहन गर्नुपर्छ । यसले मनोसामाजिक समस्याको उपचारमा सहयोग गर्छ ।