Logo

देशको पीडा र स्वाभिमानमा प्रहार



रमेश भट्टराई ‘सहृदयी’

सत्तामोहको साङ्लोमा देखिँदै आएका भड्किला घटनाले निम्त्याएका कहाली लाग्दा नरसंहारसँग नेपाली मन युगौँदेखि हैरान छ । देशमा दुस्मनी चक्रको जञ्जालमा नै फस्नलाई त विषयवस्तुको कुनै अभाव छैन । जनविश्वासका आकाङ्क्षाले नेतृत्वलाई आआफ्ना हठमा त्यागको मध्य मार्गसँग हातेमालो गर्न मार्गमा आग्रह गर्दै छ । १८औँ वसन्तपछि मुलुकले स्थानीय चुनावको रेखाचित्र कोर्दै छ । अब अप्ठ्यारा तगारा नथपिऊन्, जनभावना वन्दनीय छ । निर्वाचनसँगै संविधान कार्यान्वयनको लोकतान्त्रिक चरणले नातो गाँस्न चाहन्छ । टुसाएको यो आशाले हुर्कन पाउनु आखिर सबैको हितकारक पनि त रहेछ । संविधानको मूल बाटो बिराएपछि मानव अधिकारको चरम बलात्कार हुँदा आतङ्कको चर्को स्वरुपमा बल्लतल्ल बनेका भौतिक संरचनाहरू मूख्याइँपूर्ण भावमा तोडफोड हुँदा रहेछन् ।

शान्तिको भावनामा क्षेप्यास्त्र प्रहार हुँदै गर्दा परिणाममा द्वन्द्वको मुसल चल्दो रहेछ । देश बनाउन कति कठिन छ तर बन्द, हड्ताल, चक्काजामको बाघचलमा भासिँदै जाँदा न राजनीतिको खुशी छ, न यत्रो फागु जात्रा नै आवश्यक हुन्छ । बुद्धभूमिको देशमा दशौँ वर्ष सङ्क्रमणको घाउ नपुरिएको इतिहास बनिसक्यो । कसैको घरमा विवाह होला, कति नाबालकको शिक्षा पाउने अधिकार कुण्ठित भइरहेको हुन्छ । कतिले बिहान बेलुकाको छाक टार्न नपाएर भोकभोकै मर्नुपरेको पीडा होला तर भन्नै लाज लाग्छ । दशौँ वर्ष देशमा घटना जन्माउने, बहस गर्ने, सत्ता टिकाउने, सत्ता ढाल्ने, घुक्र्याउने, सरकार बनाउने, विपक्षीको राम्रै काम भए पनि कमजोरी खोजेर बज्र हान्दै भद्रगोलको चक्रव्यूहमा सीमित छ । भड्किएका साम्प्रदायिक सद्भावसँगै दण्डहीनता बढ्दै जाँदा जनआशा र अपेक्षा नै बाइपास हुँदै जाने खतरा छ । कुर्सीको खेलमा जनतालाई ढाल र तरबार बनाएर जनताकै सिकार हुनुमा हाम्रै सूक्ष्म सोचले भूमिका खेल्दो रहेछ ।

सप्तरी घटना कुनै जाति, सम्प्रदाय या पार्टीको पीडा होइन । यो सिङ्गो नेपाल आमाको वेदना हो । समस्यामा प्रतिशोध, निषेध अनि ढिपीको भावनाले समाधानको बिजाङ्कुरण गराउन सक्दैन । यस्ता राष्ट्रिय समस्यामा शान्ति, अमन चयन कायम गर्न संयमित भएर, लोकतन्त्र र गणतन्त्रको स्थायित्वका लागि सबैखाले हिंसात्मक भाव त्याग्नुभन्दा बुद्धिमानी र सबल मार्ग अन्य हुन पनि त सक्दैनन् । सञ्चार माध्यमले अनुगमन र अनुभवका पृष्ठभूमिमा उभिएर मध्यमार्गबाट निष्पक्ष बन्दै समाधानात्मक विचारमा केन्द्रित नबन्ने हो भने पनि मनोवैज्ञानिक कारणबाट घटनाले हिंसात्मकताको रुप चर्काउने सम्भावना उत्तिकै बढाइदिने रहेछ । हरेक नेतृत्व शक्तिले राजनीतिक परिवेशको चौकोमा अतिरञ्जित व्याख्या गर्दै रगत तताउने र तिक्ततामा नुनचुक थप्नेभन्दा राजनैतिक भूमिकामा परिवर्तनकारी जनविचार पस्कनु विचारणीय देशका लागि लाभदायक बन्ने रहेछ ।

भारतीय सैनिकको ज्यादतिले कञ्चनपुरमा गोविन्द गौतम सहिद बने । सरकारले राहत दियो, राष्ट्रिय र मानवीय सरोकारको विषय हो । भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेर सामान्य पाराले आफ्नो कर्तव्यपरायणता दर्साइदिए । ‘माफी’ रुपी शब्द कहाँ प्रयोग भयो र आखिर । नेपालीलाई राम्रैसँग थाहा छ, केही समयअघि मोहनी लगाउने भाषण छाँटेर भूकम्पले थिल्याएको चोटमा राम्रैसँग नाकाबन्दीको नुनचुक छरेको विगतका बारेमा । अर्को्तिर सदियौँदेखि सीमाक्षेत्रमा बन्दुक बोकेर दशगजा मिच्ने, हैकम जमाउने, रातारात सैनिक दमन गर्ने, नेपालीका घरमा छिरेर जथाभावी कुटपिट गर्ने गरेका कर्तुतको सिकार बनेको भारतीय निर्ममतासँग नेपाल र नेपालीको मन साँच्चै कुँडिएको छ । कोही भौतिक, कति मानसिक त कति नैतिक रुपमा भारतीय दादावादको सिकार बनेका अनि नराम्ररी हेपिएका समाचार पुराना होइनन् ।

सहिद गोविन्द गौतमका शोकमा स्तब्ध नेपाली मनले भारतीय दूतावासको ‘भारतीय सैनिकले गोली नचलाएको’ भनी निकालिएको झुटो विज्ञप्तिलाई हेरेर दोषीलाई सजाय होला भन्नेमा नै कसरी विश्वास गर्ने ? अङ्ग्रेजको गोला बारुदसँग नचुकेको नेपाली वीरतामा मानवता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका आफ्नै इतिहास छैनन् र ? तानाशाही निरङ्कुश दमनकारी कुकृत्यका सिकार बनिरहने सीमावर्ती नेपाली जनताको सुरक्षा र सीमा रक्षाका विषय दुर्घटनापछिका दुई चार दिन पर्दामा आएर अर्को घटनाको पर्खाइमा सीमित नरहोस् । मानवअधिकारको रक्षा नै पो कहाँ भएको छ– आम जनतामा चिन्ता छ । यसर्थ बोलीले स्वाभिमान जोगिँदैन अब सीमामा प्रवेशाज्ञा लागू होस्, सीमाङ्कनको रेखा आधुनिक म्यापका आधारमा तय होस् ।

हामी नेपालमा नेपाली हौँ तर पश्चिमी विचारका ठेलीलाई लाद्ने सपनामा खेल्छौँ । पश्चिमी सभ्यता पढ्नु, जान्नु र बुझ्नु अवश्य ज्ञानात्मक कसीमा सह्राहनीय होला तर के हाम्रो पहिचानबाटै हामी बाँच्न सक्दैनौँ ? अलिकति खारेर, अलिकति तिखारेर अलिकति आधुनिकतामा बढेर अनुशासित भएर हाम्रो देश चल्न सक्दैन र ? शान्तिप्रेमी बुद्धका वाणीमा भन्दा पश्चिमी मोडलको आधुनिकीकरणका विचारले देशमा प्रश्रय पाइरहेको भान हुन्छ । राजर्षि जनकको इतिहासबाट सिक्नुपर्ने राजनीतिभन्दा हामीलाई पश्चिमी संस्कारका द्वन्द्ववादप्रति दिलचस्पी छ । सीताको आदर्शमा प्राचीन बुर्जुवापनाको संज्ञा दिन्छौँ । हिंसा, युद्ध, द्वन्द्व यी घटनाका प्रत्येक सिँढीले आखिर हामीमा कति खुशी दियो ? के मारेर या मरेर पाइएको उपलब्धि मात्र हाम्रो सबल इतिहासको दृष्टान्त हो ? हाम्रा तमाम दुर्घटनातिर फर्किंदा प्रजातान्त्रिक सोचमै खिया लागेको प्रतीत हुन्छ ।

हामीले सहिदको नामसँग जुन विषय जोड्छौँ त्यहाँ अमानवीय अशान्तिका लप्का छन् । आजको अत्याधुनिक प्रजातान्त्रिक युगमा हामी अधिकारका नाममा रगतको होली खेल्दै छौँ । हामी कार्ल माक्सलाई जति महान् ठान्छौँ, त्यति त महर्षि वेदव्यासका ठेली र विचारलाई मान्दैनौँ नै । फ्रान्सेली क्रान्तिबाट, अमेरिकी स्वतन्त्रता सङ्ग्रामका कित्ताबाट सिकिएका राजनीतिलाई जति उदाहरणीय भन्छौँ, त्यति महाभारतका युधिष्ठिरको धर्म र सत्यताको परीक्षामा घोत्लिन चाहँदैनौँ । धर्मनीति, अर्थनीति र राजनीतिमा विज्ञ विदुरको धर्मसङ्कटमा राष्ट्रियताको बचाउ अनि भिष्मपितामहको माटोको कसममा सत्यता जति सम्मानजनक छ त्यति धृतराष्ट्रको महत्वाकाङ्क्षा र कौरवको कपटी राजनीति निन्दनीय छ । रामको आदर्शनीतिका धनी हामीलाई भोल्टेयर, रुसोको विचारमा गर्व हुन्छ । आखिर हामै्र आफ्नापनमा हामी कति बाँच्दै छौँ ? हामी सहजै भन्दिन्छौँ– यी त पण्डितका पुराण भन्दै गरिखाने, कमाउने, प्राचीनताप्रेमीका मनगढन्ते प्राचीन विचार हुन् ।

हामीले देशमा थुप्रै लोककल्याणकारी भाषण सुन्दै आएका छौँ अनि यसैमा विचार र बहस गर्दै आएका छौँ । समाज परिवर्तन र विकासको ढोल पनि पिटिरहेकै हुन्छ । शीतयुद्धको घेरासँग राजनीतिक–साम्प्रदायिक जटिलता चुलिँदै जाँदा भावनात्मक एकताका तर्क फोस्रा बन्दै छन् । आखिर के हुँदै छ, के पाइँदै छ र वास्तवमै चाहिएको के हो ? के हामीले भन्दै गरेका, मागिएका सबै कुरा पाएपछि हामी सन्तुष्ट बन्न सकौँला ? आज हरेक नागरिक राजनीतिक सोचसँग किन वितृष्ण छ अनि किन नेतृत्वलाई गाली गरिरहन्छ– चोकमा, सडकमा, चियाको चुस्कीसँगै क्याफेमा !

भूराजनीतिको ध्रुवीय सत्तायात्राका महायज्ञबाट चुलिएको विकेन्द्रीकृत सोचसँग फेरि देशमा अपसकुन भइरहेका दुःखद् सत्यमा आखिर कस्तो शान्तिको उद्घोष छ ? हिजोका कैयौँ युद्धजन्य पासोबाट बल्लतल्ल उम्केको विचार नसङ्लिँदै दलदलतिर भासिएका तीतासत्यबाट सिङ्गो मुलुक आक्रान्त छ । संविधान निर्माणको सफलतामा जुटेको सबल दलीय एकताको उदाहरण मकाउनु कुनै एक दलको असक्षमता पनि त होइन । लोकतन्त्र, गणतन्त्र या आजसम्म भनिएका उपलब्धिबाट कति प्रतिशत जनता लाभान्वित भएका होलान् ? के देशले हिजोका युद्ध र द्वन्द्वको लागि प्रायश्चित गर्न सकेको छ त ? नेपाल आमाका सन्तानलाई दुख्ने घाउ आज मधेशका माटोमा, रङ, रुप, सीमाना अनि पाटीको पोल्टामै खन्याइएका भावनामा कस्तो राष्ट्रवादी सरोकार जोडिएको होला । सिङ्गो देशको आवाजलाई एउटा पाटीको चौघेराभित्र राखेर विश्लेषण गर्दै जाँदा विकेन्द्रीकृत सोच झाङ्गिँदै छ, जनतामा भावनाको दूरी बढ्दै छ । हाम्रा शिष्ट, सभ्य राजनैतिक आदर्शका पानाहरू दोबाटोमा बलात्कृत भइरहेका छन् । चुनावी माहोलभन्दा आज हरेक नेतृत्वले भिरेको पाटी मात्रको विकेन्द्रित कुभावनाका अङ्कुरले सिङ्गो देशको आवाज छायाँमा पर्दै छ ।

प्रत्येक घटनाको सम्बोधनका लागि सडकमै उत्रिनुपर्ने संस्कार र बाध्यता बनिरहेको छ देशमा । जनता बाध्य छन्, पाटीको पछाडि लागेमा मात्र न्यायालयको ढोकामा पुग्ने आधार बन्ने तर निमुखाका त्यस्ता आवाज खोलाको गीत बन्ने गरेका पीडादायी गुनासाहरु कम छैनन् । नेतृत्वको पछाडि लागेर आक्रोस, अडान र हुलमुलको जत्थामा एउटै झण्डाको कदर गर्ने हामीले आफ्नै परिवारमा राँको जलाएको लामो इतिहास हामीसामु छन् । घर झगडामा नै रगतको होली खेलिएको देखेपछि बाह्य शक्तिले बन्दुक चलाउन कति सहज ठान्यो । हामी घरमै मारामार गर्दै छौँ । तेस्रो बाह्यशक्तिको ज्यादतीमा एक ढिक्का भएर न्यायको झोली थाप्ने बेलामा हामी आपसमा भाँडिरहेका छौँ ।

आफ्नैसँग आरोप–प्रत्यारोप गर्दै आपैmँले सास्ती जन्माएर आपैmँ त्यसको पीडा सहेर गाँड कोराकोर गरेको लामो विगतले हामीलाई गरिबी, बेरोजगार र अभावको झोला भिराएको पनि धेरै भइसकेछ । कार्यकर्तालाई बलिको बोको बनाउने अभियानमा होम्न जान्ने तर विकासको महायज्ञ र शान्तिको रङ्गमञ्चमा तरङ्गीत बनाउन नसक्ने विसङ्गतिको मुस्लोले प्रायः कुनै राजनीति अछुतो छैन । डाडुपन्यौँ आपैmँसँग बोकेर पाकेको भातमा बेकारको किचलो गर्दै गर्दा अर्कैले पेट भर्ला र भोकै पेट ग्यास्टिकको सिकार बन्ने अवस्था नआउला भन्न पनि त सकिँदैन । यसर्थ भाषणका सैद्धान्तिक खोक्रोपनभन्दा अब मुलुकको परिवर्तनका लागि विकासका बाटामा मतभेदको अन्त्य आवश्यक छ । सहमतिको सुमार्गमा सम्पूर्ण जनता, दल र देश एकढिक्का हुनुको अर्को विकल्प भेटिँदैन ।

निषेधको राजनीति र साम्प्रदायिक दुर्भावनाको सोच त्यागेर वार्ता, सहमति र सहकार्य्बिना नेपाल आमाको आशाको दीयो जल्ने सम्भावना देखिँदैन । राणाहरुले कतिपय राम्रा कार्य गरे पनि जनतालाई मानव अधिकारका पक्षमा दबाएकै कारण नेपालको इतिहासमा राणा शासन व्यवस्था निरङ्कुशताको कालो रुप बनेको हो । १९९७ सालबाट सुरु भएको एकतन्त्रीय जहानिया राणा शासनका विरुद्ध विभिन्न कालखण्डमा नेपाली सपूतहरुले जेल, नेल र प्रवास मात्र हैन फाँसीसम्मका यातना भोग्न विवस बन्नु प¥यो । राजनैतिक परिवर्तनका उकाली ओरालीले प्रजातन्त्रलाई सकेसम्म विभिन्न रुपमा मलजल गर्न खोजे तर जनताले चाहेका अधिकार र आवश्यकतालाई राज्यले सही रुपमा सम्मान गर्न नसकेका गुनासा घट्दै छन् भनेर दाबी गर्नसक्ने अवस्था अद्यापि छैन । प्रजातान्त्रिक व्यवस्थाकै उपज हुन्– २०३६, क २०४६ र २०६२÷२०६३ का जनमुखी आन्दोलनहरु, लोकतन्त्र, गणतन्त्र अनि जनमुखी संविधान लेखन कार्य । यद्यपि यो अमर र अतुलनीय इतिहासलाई बिर्सेमा सहिदका रगतले हामीलाई धिक्कार्नेछ । सत्ता लिप्साको राजनीतिक बेमेलले प्रजातन्त्रको धज्जी उडाएको देख्दा राष्ट्रभक्तहरुको नयनमा वेदनाका आँशु खस्छन् ।

राष्ट्रको सेवा गर्ने वहानामा व्यक्तिगत लालचमुखी सोच हाबी बन्दै गर्दा कैलालीको टीकापुरमा एक निर्दोष बालकसहित ९ जनाको निर्मम हत्यामा नेपाल आमाकै आँशु बग्यो । मधेश आन्दोलनमा, जनयुद्धमा या आन्दोलनका हरेक रुपका नेपाली राजनीतिमा तरङ्गीत हिंसात्मक भावले चिसिएको दूरीलाई जोड्ने सोचबाट असन्तुष्ट पक्षले भावनात्मक एकतामा साथ नदिए देशमा चाहेको परिवर्तन हुन नसक्ने सम्भावना उत्तिकै रहन्छ । परदेशमा एक भाइ हाम्रै लागि पसिना बगाइरहँदा हामी दाजुभाइ यहाँ मारामार गर्दै घरभित्र निर्दयी असचेत स्वार्थका पोका बोकेर दौडिएका छौँ । अतः जनतामा हिंसात्मक भावले चिसिएको दूरीलाई जोड्ने भावनात्मक एकताको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्