Logo

निर्वतमान सभामुख महरा प्रहरी हिरासतमा,सुनुवाई दशैंपछि



Share this

२० असोज, काठमाडौं – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको सुनुवाई दशैंपछि मात्रै हुने भएको छ । आइतबार साँझ बालुवाटार निवासबाटै पक्राउ परेका महरालाई महानगरिय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने जानकारी दिए । २६ गतेसम्म विदा र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द हुने भएकाले २८ गते मात्रै अदालति प्रक्रिया सुरु हुने उनले बताए ।
महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको भन्दै शुक्रबार प्रतिनिधिसभामा काम गर्ने रोशनी शाहीले प्रहरीमा उजुरी दिएपछि महरालाई आइतबार पक्राउ गरिएको हो । पक्राउ परेका महरामाथि मुलुकी फौजदारी अपराध संहिता अनुसार अनुसन्धान सुरु हुनेछ ।
पक्राउ परेका महरा दोषी ठहर नभएसम्म उनको सांसद पद कायमै रहने भए पनि सांसदले पाउने सेवा सुविधा भने नपाउने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली–२०७४, अनुसार कृष्णबहादुर महराको संसद पद अब स्वतः निलम्बनमा पर्नेछ ।
फौजदारी अभियोग लागेका महराले सांसद पदको हैसियतमा कुनै अधिकार, सेवा, सुविधा र पारिश्रमिक पाउने छैनन् । संसद नचलेकाले सांसदहरुलाई महरा फौजदारी अभियोगमा पक्राउ सूचना संसद सचिवालयको सूचना पाटीमा टाँसेर जानकारी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अहिले दशैंका कारण संसद सचिवालय पनि बन्द भएकाले विदा सकिएपछि मात्रै सूचना टाँस गरिनेछ ।

Share this
प्रतिक्रिया दिनुहोस्