संगीता रेग्मी
आज मधेश हरेक क्षेत्रमा पछि परेको छ र यसको मुख्य दोषी ठूला राजनीतिक दलहरू छन् । मधेशलाई बिगार्ने काम यी ठूलै दलबाट भएको हो । आज मधेश राजनीतिक दलहरूको खेल्ने मैदान भएको छ ।
इतिहासलाई हेर्ने हो भने मधेश एउटा शासित क्षेत्र हो । यहाँ सामन्तवाद, राजतन्त्र र जमीनदारहरूले शासन गरे । जनताको शासित मानसिकताका कारण यो क्षेत्रको उचित विकास हुन सकेन । जो शासक वर्ग थियो, त्यो मधेशका थिएनन । भएकै भए पनि साङ्केतिकमात्र थिए । यो क्षेत्र शासकहरूबाट शोषित रह्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि अधिकारका विषय जुर्मुराएर बाहिर आए । जनतामा आफैबाट शासित हुनुपर्छ भन्ने भावना उजागर भयो । अहिले राज्यका हरेक क्षेत्रमा समानुपातिक र समावेशी सहभागिताका कुराहरू तराई क्षेत्रलाई पहिल्यैदेखि गरिएको उपेक्षाको उपज हो । शासनको तहमा उनीहरूको सहभागिता पहिल्यैदेखि भएको भए त्यो माग आउने थिएन । परिणाम, सङ्घीयतासहितको संविधान आयो ।
देशले अहिले तीन चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि सम्पन्न गरेका छ । । यो निर्वाचन किन महत्वपूर्ण हो भने देशले पहिलो पटक संघीयताको अभ्यास गर्र्र्दै प्रादेशिक सरकार बनाउँदैछ । संघीयता मधेशको देन हो भने मधेश आन्दोलनको उपज पनि हो । संघीयताले देशलाई विकासको मार्गमा डो¥याउनुका साथै जनताको हक र अधिकारलाई प्रत्याभूत गर्छ भन्ने मान्यताका साथ मधेश यसका लागि लडेको हो ।
यसै सिद्धान्तको आधारमा विकासको नारा दिएर सबै दलका नेता तथा कार्यकर्ताहरू आफ्नो क्षेत्रमा चुनावी अभियान लिएर मतदातालाई आकर्षण गर्न जनताको घर दैलो पुगेका छन् । आफ्नो जीत सुनिश्चित भईसकेको आकंलन गर्दै उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले गर्दा विशेष गरी प्रदेश नम्बर २ मा चुनावी रौनक बढेको छ । मधेश आन्दोलनको केन्द्रबिन्दु रहेको २ नम्बर प्रदेशमा राजपा र फोरमको गठबन्धनले आम जनतामा एक किसिमको उत्साह देखिएको छ भने यो गठबन्धनले बहुमत ल्याई प्रादेशिक सरकार निर्माण गर्ने आंकलन गरिदैछ ।
मधेशमा मधेश दलको सरकार निर्माणको सम्भावना रहे पनि उनीहरूको विकासप्रतिको नीति प्रष्ट छैन । मधेशको विकासको सवालमा मधेशी दलहरूको स्पष्ट रोडम्याप नहुँदा भोली मधेशको मार्ग कस्तो हुने, विकासको दृष्टिले मधेशलाई कसरी हेर्ने जस्ता आधारभूत विषयमा जनता अनभिज्ञ छन् ।
सङ्घीयताको मूल उद्देश्य विभिन्न तहबाट विकासको कार्यान्वयन होओस् भन्ने नै हो तर, जब विकास आफ्नो तहबाट गरिन थाल्छ, स्रोतको पहिचान र व्यवस्थापन पनि स्वतः हुन्छ । प्रश्न उठ्न सक्छ, के सङ्घीयता अभ्यासमा आउनेबित्तिकै मधेशको विकास हुन्छ त ? होइन भने अब विकासलाई गति दिन मधेशले के गर्नुपर्छ ? यस क्षेत्रका कमजोरी केके हुन् ? यस्ता प्रश्नको समुचित समाधानमा नै मधेशको विकासका अवरोधहरूको निकास पनि अन्तरनिहीत छ ।
२०६२÷६३ को मधेश आन्दोलनसँगै विभिन्न उद्देश्यले मधेशको नाममा राजनीतिक दलहरू खोलिए । नागरिकता, भाषा, समानुपातिक समावेशी प्रतिनिधित्व, समान अधिकार, पहिचान, संघीयता लगायतका माग राख्दै विभिन्न चरणमा आन्दोलन भइरहे तर अधिकारको आन्दोलनमा अगाडि बढिरहँदा विकासमको सवालमा मधेशी दलहरू पछाडि परिरहे । हुलाकी राजमार्ग निर्माण सुरू भएको १० वर्षभन्दा बढी समय भयो तर अहिलेसम्म पूरा भएको छैन । यो विषयमा मधेशी दलहरूले खासै ध्यान दिएको पाईदैंन । समथर भू–भाग रहेको मधेशमा सडक निर्माणमा खासै समस्या रहँदैन । तर, जनकपुर, जलेश्वर, बर्दिबास, नवलपुर, चन्द्रनिगाहपुर, गौर लगायत मधेशका सदरमुकाम जोड्ने अधिकांश सडकको अवस्था जीर्ण रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता विकासका सवालमा मधेशका जिल्लाहरू पछाडि पर्दै आएका छन् ।
राज्यले मधेशको विकासमा ध्यान दिएन, मधेशलाई सधैं हेपिरह्यो भन्ने गुनासो मधेश केन्द्रित दलहरूले गर्दै आएका छन् । तर, राज्यले जति बजेट विनियोजन गरेको छ त्यसको पनि सदुपयोग हुन सकिरहेको छैन । भ्रष्ट्राचार व्यापक छ । हरेक ठाउँमा कमिशनको खेल हुने गरेको छ । जति बजेट केन्द्रबाट विनियोजित भएर गएको छ त्यसको मात्र सही सदुपयोग गर्ने हो भने पनि मधेशमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्थामा धेरै हदसम्म सुधार ल्याउन सकिन्छ । जनताको दैनिकीसँग जोडिएको विषयलाई मधेश केन्द्रित दलले बढी महत्व दिनुपर्ने हुन्छ । आफू केन्द्रमा बसेर मधेशीको अधिकारको विषयमा कुरा उठाउने तर आफ्ना मतदाताको समस्यामा ध्यान नदिनु मधेशी दलको कमजोरी हो ।
जति मधेशको नाममा राजनीति गरिन्छ त्यति मधेशको विकासमा ध्यान कसैको गएको छैन् । मुलुक संघीयतामा गइसकेको छ भने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिनिधि र प्रदेशसभाको लागि भोट माग्न आ–आफ्नो क्षेत्रमा पुगेका उम्मेदवारहरूले अबको दिनमा आफ्नो क्षेत्रको विकासमा ध्यान दिन जरूरी छ । मतदातालाई आश्वासनभन्दा पनि परिणाम चाहिएको छ । मधेशी जनतालाई आन्दोलनका लागि मात्र प्रयोग गर्दै आएका मधेशी दलहरूले अबका दिनमा निर्वाचनमा भोट लिनको लागि मात्र प्रयोग नगरी विकासको एजेन्डालाई प्राथमिकतमा राख्नुपर्छ ।
राष्ट्रिय राजनीतिमा मधेशका समुदायबाट प्रभावशाली नेता आउन सकेनन् । राजनीतिले मधेशप्रतिको छवि परिवर्तन गर्नु जरूरी छ । मधेश भनेको खुला सिमानाका कारण अपराध, लागूऔषध, मानव बेचबिखनको मार्गजस्ता समस्याहरूमात्र होइन, सम्भावनाको केन्द्र पनि हो भन्ने मान्यता स्थापित हुनुपर्छ । यसमा राजनीतिको भूमिका बढी हुन्छ । त्यसैले मधेशबाट नेतृत्व गर्ने नेताले आफूलाई समयसापेक्ष अद्यावधिक गर्नु जरूरी छ । (मधेश दर्पण फिचर सेवा)