Logo

मन्थली नगरपालिकामा शोक सभा



Share this

२ मंसिर, रामेछाप– मन्थली नगरपालिका–४, सालुका वडा सदस्य तथा नगरसभा सदस्य रामबहादुर लामा (तामाङ) को मृत्युको शोकमा मन्थली नगरपालिकाले शोक श्रद्धाञ्जली सभा गरेको छ ।
मृतक नगरसभा सदस्य तामाङको फोटोमा नगरप्रमुख रमेश कुमार बस्नेत उपप्रमुख माया कुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत हेमन्तकुमार बुढाथोकी लगायत नगरपालिकाका कर्मचारीले पुष्पगुच्छा र माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
२०१४ साल भदौ १४ गते तत्कालिन सालु गाविसको ढुङ्गेछापमा जन्मिएका तामाङ राजनीतिमा सक्रिय हुनुपूर्व नेपाल प्रहरीमा जागिरे थिए । नेपाल प्रहरीको हवल्दारबाट अवकास लिएपछि तामाङ राजनीतिक क्षेत्रमा लागेको थिए ।


२०७४ वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा तामाङ तत्कालिन एकीकृत माओवादीबाट वडा सदस्यमा बिजयी भएका थिए । मन्थली ४ सालुबाट खसेको कुल ११८९ मतमा तामाङले ६ सय १ मत प्राप्त गरि विजयी भएका थिए ।
२०७६ भदौदेखि मृगौला तथा श्वासप्रश्वासको समस्याबाट थलिएका तामाङको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचार भएको थियो । प्रहरी अस्पतालबाट उपचार सम्भव नभएपछि तामाङलाई असोजमा अस्पतालले थप उपचारका लागि धुम्बराहीस्थित ह्याम्स अस्पतालमा रिफर गरेको थियो । उपचारकै क्रममा तामाङको यही कार्तिक १४ गते अस्पतालमा नै निधन भएको थियो ।
नगरसभा सदस्य तामाङको मृत्युको शोकमा कार्तिक २४ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर २ गते मन्थली नगरपालिकामा बिदा दिएको छ । त्यसैगरी सम्पूर्ण वडाहरुमा रहेका राष्ट्रिय झण्डालाई आधा झुकाई श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।

Share this
प्रतिक्रिया दिनुहोस्