सन्तोष ढुङ्गेल
रामेछाप- माझी समुदायले प्रमुख पर्व लदी पूजा धुमधामसँग मनाएका छन् । देशभरि जस्तै रामेछापका माझी समुदायले धुमधामसँग मनाएका छन् । नदीलाई माझी भाषामा लदी भन्ने गरिन्छ । माझी समुदायले बर्सेनी फागुन महिना साइली मङ्गलवार अर्थात तेस्रो मङ्गलबार लदी पूजा गर्ने गर्दछन् ।
भगवान रामले माझीसँग मित लगाएको किंवदन्ती रहेको र भगवान रामकै पालादेखि लदी अर्थात् नदी पूजा गर्ने गरेको माझी अगुवा शङ्कर माझीले बताए । प्राचीन सभ्यता र संस्कृतिसँग माझी समुदायको नाता कोसीसँग नै जोडिएर आएको उनको भनाइ छ ।
कोसी र माझीको अन्योन्याश्रित सम्बन्ध रहेको र माझी समुदायको संस्कृति परम्परा र इतिहास जोगाउन पनि युवा पुस्ता लागिपरेको माझी अगुवा बालकृष्ण माझीले बताए । आफ्नो संस्कार, संस्कृति पछिल्लो पुस्ताले पनि कायम राखुन् भन्दै युवाहरू संस्कृति संरक्षणमा जुटेको कलाकार एवम् माझी अगुवा बाबुराम माझीले बताए । पछिल्लो पुस्ताले पनि आफ्नो संस्कार, संस्कृति र इतिहास नभुलुन् भनेर सम्पूर्ण माझी समुदाय एक भएर नदी (लदी) पूजा गर्ने गरेको बाबुराम माझी बताउँछन् ।
आफूहरू कोसी किनारमा बस्ने र कोसीलाई नै आफ्नो कर्म थलो बनाएको हुनाले कुनै पनि दैविक प्रकोप नहोस् भनेर माझी समुदायका पुर्खाले नदी पूजा गर्दै आएका थिए । कोसी किनारामा बस्दा देवी देवता नाग नागिनीले पनि केही नगरोस् भनेर नदीलाई खुसी राख्न पूजा गरिने पूजारी किर्ते माझीले बताए । आफूहरू सँधै कोसीमा काम गर्ने, कोसी वारपार गर्ने र दैनिकी नै कोसीमा बिताउने हुनाले कोसीले केही क्षति नपु¥याओस् भनेर नदी पूजा गरिएको पूजारी किर्ते माझीको भनाइ छ । नदी अर्थात लदी आफ्नो मामा भएको र आफूहरू भन्जाको सम्बन्ध रहेको उनको भनाइ छ । सदियौँदेखि नदी किनारमा बस्दै आएका माझी समुदायको अन्य समुदायको भन्दा छुट्टै संस्कार र संस्कृति रहेको छ । अन्य समयमा जति मनमुटाव भए पनि नदी पूजामा भने सबै एकैसाथ भेला भएर पर्व मनाउने गरेको माझी अगुवा बालकृष्ण माझी बताउँछन् । सुनकोसी नदी दिदी र तामाकोसी नदी बहिनी भएको किंवदन्ती रहेको उनको भनाइ छ । सुनकोसी नदीले सुँगुरको भोग खाने र तामाकोसी नदीले पाठीको भोग खाने प्रचलन अनुसार सुनकोसी नदी किनारका माझी समुदायले सुँगुरको र तामाकोसी नदी किनारका माझी समुदायले पाठीको भोग दिएर नदी पूजा गर्ने गरेको बालकृष्णले बताए । सुनकोसी र तामाकोसी नदी किनारमा उल्लेख्य मात्रामा माझी समुदायको बसोबास रहेको छ । कोसी किनारमा बस्ने माछा मार्ने र डुङ्गा चलाउने माझी समुदायको पुर्खेउली पेशा हो ।
अति सीमान्तकृत माझी समुदायले आफ्नो पुरानो परम्परा मझेसाबा गर्ने भएका छन् । माझी भाषामा मझे को अर्थ अध्यक्ष वा नाइके भन्ने हुन्छ र साबा भनेको सभा भन्ने अर्थ लाग्दछ । माझी समुदायको उत्पत्ति कालदेखि एउटालाई अध्यक्ष वा नाइके मानेर उसैको निर्णयमा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्दथे । मझेसाबा गर्नुको मुख्य उद्देश्य रामेछाप जिल्लामा माझी जातिको प्रचलित परम्परागत सभ्यता र संस्कृतिलाई जगेर्ना गर्न र निरन्तरता दिन रहेको आदिवासी जनजाती महासङ्घ रामेछापका संयोजक श्रीबहादुर माझीले जानकारी दिए ।
मझेसाबा भनेको माझी जातिको परम्परागत जातीय संस्थाको नाम हो । प्रत्येक माझी गाउँमा मझेसाबा गठन गर्ने गरिएको पनि बालकृष्ण माझीले बताए । उनी भन्छन् – जनसङ्ख्या कम भएको गाउँमा अर्को गाउँ समेटेर पनि मझेसाबा गठन हुन्थ्यो र यसमा रूप, रङ, स्वभाव मझेसाबासँग मिल्दैन । यसलाई नदी पूजा अर्थात् लदी पूजाको दोस्रो दिन मझेसाबा बस्ने गर्दछ । मझेसाबा गठन गर्नेबारे गाउँका सबैलाई जानकारी गराइसकेको हुन्छ र छनोट तरिका ठिक उल्टो हुने उनको भनाइ छ । मझेसाबा गठन गर्दा पहिला साना केटाकेटीलाई प्राथमिकता दिएर छैटौँ अधिकार पदाधिकारीको हुने बालकृष्ण माझीले बताए । जिल्लाका विभिन्न स्थानमा मझेसाबा गठन गरिसकेका माझी समुदायले फागुन १६ गते सदरमुकाम मन्थलीमा पनि साबाको आयोजना गर्ने बताएका छन् ।