नवराज विश्वकर्मा
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रामेछापले ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् ।
जिल्लाका आठ स्थानीय तहमध्ये दुई नगरपालिका र चार वटा गाउँपालिकामा अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र रामेछापले जनाएको छ । रामेछाप नगरपालिकाको नगर पार्टी कमिटीको अध्यक्षमा मोति तामाङ, मन्थली नगर कमिटीको अध्यक्षमा शंकर बोहरा, सुनापती गाउँ कमिटीको अध्यक्षमा ठूलोकान्छा तामाङ, दोरम्बा गाउँकमिटीको अध्यक्षमा हिरा श्रेष्ठ, उमाकुण्ड गाउँ कमिटीको अध्यक्षमा अनन्त खड्का र गोकुलगंगा गाउँ कमिटीको अध्यक्षमा इन्द्र भनिने विशाल तामाङ चयन भएका नेकपा माओवादी केन्द्र रामेछापका पार्टी सचिवालय सदस्य मदन कालिकोटेले जानकारी दिए ।
अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सह–सचिव एक र कोषाध्य एक सहित ६२ सदस्यीय नगर कमिटी र ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको उनले बताए । उनका अनुसार अब, खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा अधिवेशन हुन बाँकी छ । खाँडादेवी गाउँपालिकामा सोमबार १३ गते हुँदैछ भने लिखुतामाकोशी गाउँपालिका यही मंसिर १८ गते शनिबार हुने माओवादी केन्द्रले जनाएको छ । खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागि सोमबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल आउने भएका छन् ।
मन्त्री जमकट्टेल जिल्लाको खाँडादेवी गाउँपालिकामा हुने पार्टीको गाउँ अधिवेशनका लागि रामेछाप आउन लागेका नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैनकुमार मोक्तान (मदन) ले जानकारी दिए ।