रामेछाप–सुनापति गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाले दोस्रो जनक्रान्ति, जनआन्दोलन दिवसको अवसर पारेर फागुन १ गते दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन पूर्वगृहराज्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले गरेका हुन् । उद्घाटन कार्यक्रमको विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष गिता विष्ट रहेकी थिइन ।
प्रतियोगितामा पालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका छन् । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत छात्र भलिबलको साथै एथलेटिक्स फिल्डमा फिल्डतर्फ ज्याभ्लिङ थ्रो, सटफुट, लङजम र ट्रयाकतर्फ १०० र २०० मिटर दौड छात्र÷छात्रा गरी ११ वटा विधा समावेस छ ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोबिन्ध घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला नेता रामकृष्ण लामा, सुमन मोक्तान, मनोज के.सी.ले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी सुनापति गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिल निरौला वडा अध्यक्षहरु चण्डेश्वर चौलागाई कमल के.सी. बाबुराम तामाङ, खड्ग घिसिङ र ठुलोकान्छा तामाङले कार्यक्रम सफलताको सुभकामना मन्तव्य दिएका थिए ।
बाग्मती खेलकुद परिषदका सदस्य धनकुमार मैनाली, जिल्ला खेलकुद परिषदको सदस्य लालबहादुर थापामगरले शुभकामना मन्तव्य दिँदै सहभागी खेलाडीहरुलाई स्वस्थ प्रतिस्पर्धाद्धारा पालिकाबाट जिल्ला, प्रदेश हुदैँ केन्द्रले आयोजना गर्ने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जीत हासिल गर्ने लक्ष्य लिन आग्रह गरे । कार्यक्रमको व्यवस्थापन तथा संयोजन सुनापति गाउँपालिका वडा नम्बर ३ खेलकुद विकास समितिले गरेको छ ।