Logo

वित्तीय लक्ष्य बनाएर बचत गर्न सके भविष्य उज्वल छ



जानकी गाउँपालिकाको वित्तीय साक्षरता सहजकर्ता बसन्ती चौधरीको सहयोगमा सागर बिक्रम बस्नेत

कैलाली- आफूसँग पैसा नहुँदा अरुले गर्ने व्यवहार फरक हुदो रहेछ । श्रीमानको समेत कमाइ नहुँदा गाह्रो साह्रो पर्दा अर्काको कमाइमा आश गर्नु बाहेक विकल्प पनि थिएन बासमती चौधरीलाई । अनि समस्या परेका बेला पैसा हुनेले दिएनन् भने त्यो भन्दा दुःख लाग्ने अवस्था अरु केहि हुँदैन रहेछ बासमतीले तीतो अनुभव सुनाइन् ।
कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.४ को मुनुवा टोलकी बासमती चौधरी उमेर ३३ बर्ष पूरा भइन् । १६ जनाको संयुक्त परिवारमा बस्ने बासमतीको परिवारमा हजुरबुवा, जेठाजु र जेठानी ४ जना उनीहरुको ४ जना छोराछोरी, देवर देउरानी २ जना उनका २ छोराछोरी र आफ्ना २ छोराछोरी र श्रीमान छन् । जन धेरै भएपछि एकाघरमा हुने सबैको मन समेत नमिल्ने गरेको बासमतीको अनुभव छ । उनकी जेठाजुले खाजा नास्ता पसल चलाएका छन् । आफूले कमाएको पैसा आफूखुसी खर्च गर्ने भएको हुँदा बासमती भने सधैँ अभावै अभावमा चलिरहेको हुन्थ्यो । तर कमाउनेले बासमतीलाई कहिले पनि समस्या के छ ? भनेर सोध्दैनन् थिए । जसले गर्दा उनी सँधै चिन्तित् हुन्थिन् ।
बासमतीका छोराछोरी हुर्कदै गए । बच्चा हुर्कदै गएपछि बासमतीलाई छोराछोरी कसरी पढाउने भन्ने चिन्ता थपियो । कमाउने बाटो केहि नभेटेपछि बासमतीका श्रीमानले मलेसिया जाने निधो गरे । बिदेश जान लाग्ने पैसा घर नजिकै रहेको छिमेकी लघुवित्तीय संस्थाबाट १८ प्रतिशत ब्याज तिर्नेगरी ऋण लिए । प्रकृया सुरु गरेको २ महिनापछि श्रीमान मलेसिया उडे । श्रीमान मलेसिया गएपछि बासमतीलाई चिन्ता थपियो । छोरी स्कुल भर्ना गरिसकेको हुँदा एकातिर ऋणको किस्ता अनि अर्कातिर छोरीको स्कुल फि बुझाउनु पर्ने हुदा मन सधैँ भारी भइरहन्थ्यो उनको ।
श्रीमानले ५ महिनापछि बासमतीको नाममा २ लाख रुपैयाँ पठाइदिए । बासमतीले एकैपटक त्यती धेरै पैसा आफ्नो नाममा आउँदा खुसीले गद्गद् भइन् । किनकी हिजोसम्म ऋणको कारण चिन्तित हुने बासमतीलाई ऋण तिरेर खुसी फर्काउन पाइन्छ भन्ने लागेको थियो । पैसा लिएर बासमती छिमेकी लघुवित्तीय संस्थामा गइन् । संस्थाको खाता पल्टाएर उनले एकैपटक १ लाख ५० हजार ऋण चुक्ता गरी खुसी हुँदै घर फर्किइन् । बाँकी ५० हजार साथमा थियो । उनलाई त्यो ५० हजार रुपैयाँले रातभर निदाउन नदिएको बताउछिन् उनी ।
घरका सबैजना केहि न केहि पैसा आउने काममा लागेको हुँदा उनलाई पनि आफैले कसरी पैसा कमाउन सकिन्छ भन्ने सोच मनमा आइरह्यो । बासमतीले श्रीमानसँग चिया खाजा पसल खोल्ने बिषयमा छलफल गरिन् । श्रीमानले पनि बासमतीको कुरामा हो मा हो मिलाइ दिए । श्रीमानसँग सल्लाह गरेपछि उनले मुनुवा बजारमा महिनाको ५ सय रुपैयाँ भाडा तिर्नेगरी जग्गा भाडामा लिएर चिया खाजा पसलको श्रीगणेश गरिन् ।
जानकी गाउँपालिकाले सुरक्षित आप्रवासन सामी कार्यक्रम संञ्चालन गरिहेको थियो । डिप्रोक्स(नेपालको प्राविधिक सहयोगमा वडा नं ४ कै आफ्नै गाउँमा चलेको मुनुवा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बासमती पनि जान थालिन् । कक्षामा जान थालेपछि बासमतीले घरचलाउने जुक्ति जानिन् । कक्षामा छलफल भएको व्यवसायिक योजनाले उनको ध्यान तान्यो । आफूले व्यवसायिक योजना बिना नै सुरु गरेको चिया खाजा पसललाई कसरी झन् राम्रो बनाउन सकिन्छ भन्ने कुरा बुझिन् बासमतीले ।


स्वादिलो चिया अनि मिठो खाजा बनाउन सिपालु बासमतीले चिया खाजा पसल चलाएको ठाउँ बजारमा थियो । बिस्तारै उनको चिया खाजा पसलमा आएर चिया र खाजाको स्वाद लिनेहरुले उनको पसलको बिज्ञापन गरे । व्यापार बढ्दै जान थाल्यो । उनको खाजा पसलमा ग्राहकको संख्या थपिँदै जाँदा कमाइ पनि बढ्दै जान थाल्यो । कक्षामा सिकेको कुराले उनलाई चिया खाजा पसलमा लगानी गर्न प्रेरणा दियो । उनको श्रीमानले मलेसियाबाट ८५ हजार रुपैयाँ पठाए । बासमतीले श्रीमानले पठाएको ५० हजार रुपैयाँ व्यपारमा थप गरिन् । पहिले चिया र खाजा मात्र बेच्ने बासमतीले आजभोली आइसक्रिमको व्यापार पनि सुरु गरेकी छन् । व्यापार बिस्तार गरेपछि उनको पसलमा जानेले पनिरको स्वाद समेत लिन पाउने उनी बताउँछिन्् । दिनभर पकाई तुल्याई गरेर व्यापार गर्दा बेलुकीसम्म ५ हजार घटिको व्यापार नहुने उनको अनुभव छ ।
उनले दैनिक रुपमा भएको बिक्री र सामान बिक्रीबाट भएको खुद नाफाको हिसाब कपिमा टिपेर रोखेकी छन् । उनको हिसाब अनुसार दैनिक खाजा नास्ता तयार गर्ने सामाग्री र दूःधको लागि २ हजार ५ सय खर्च लाग्ने गरेको बताउछिन् । चिया खाजा पसलमा दैनिक गरेको लगानी र त्यसबाट हुने आम्दानी लगभग दोब्वर हुने गरेको उनको भनाइ छ ।
यसरी दैनिक बिक्रीबाट भएको आम्दानीबाट बासमतीले छोरीको स्कुल फि बापत महिनाको १ हजार ५ सय बोर्डिङ्ग स्कुललाई बुझाउछिन् । उनी दैनि आफू सदस्य रहेको छिमेकी लघुवित्तीय संस्थामा १ हजार बचत समेत गर्छिन् ।
बासमतीको श्रीमान बिदेश जाँदा लिएको ऋण तिर्न ५० हजार मात्र बाँकी छ । ऋण तिरौं न त भन्ने हो भने पनि उनको दैनिक बचतको रकमले ऋण चुक्ता गर्न पुग्छ । कक्षामा बसेपछि भविष्यको लागि बचत कति आवश्यक छ भन्ने समेत आफूले बुझेको बताइन् उनले ।
वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि उनले आफ्नो वित्तीय लक्ष्य समेत बनाएकी छन् । उनले सहकारीको ऋण तिर्ने लक्ष्यलाई अल्पकालिन छोरीको पढाई र सम्पत्ती जोड्ने लक्ष्यलाई दिर्घकालिन लक्ष्यभित्र राखेर योजना बनाएकी छन् । बासमतीले बित्तीय लक्ष्य पूरा गर्नको लागि चाहिने बचत लक्ष्यका आधारमा बचत समेत गरिरहेकी छन् । अरुले पनि मैलेजस्तै वित्तीय लक्ष्य बनाएर बचत गर्न सके सबैको भविष्य उज्जल हुन्छ उनी भन्छिन् ।
आफूले गरेको चिया खाजा पसल पछिसम्म यसैगरी चलेमा यहि व्यवसायलाई बढाउँदै लैजान्छु, उनले भनिन् । श्रीमान कुवेतबाट फर्किसकेपछि हामी दुवैजना मिलेर यहि पसल चलाउछौँ, उनले थपिन् ।
यसरी छोरीको स्कुल फि र आफूलाई सामान्य खर्चका लागि चाहिने पैसाको लागि परिवारमा कमाउने मान्छेको मुख ताक्ने बासमती अरुलाई खाँचो पर्दा सहयोग गर्न सक्ने अवस्थामा पुगेकी छन । आफूले पैसा कमाएर देखेका सपना पूरा कसरी गर्ने भन्ने कक्षाले सिकाएको छ । अभावले जन्माएको म पनि कमाउन सक्छु भन्ने संकल्पमा वित्तीय साक्षरता कक्षाले थप मलजल गरेकोमा दंग छिन् बासमती चौधरी ।

प्रतिक्रिया दिनुहोस्