Logo

वित्तीय साक्षरता कक्षाले पैसा कमाउने बाटो देखायो, सामूहिक खेतीमा रमाउँदै महिलाहरु



 

धादिङ – धादिङ बेसीबाट ५ किलोमिटर पूर्व लागेपछि आइपुग्छ बसाह गाउँ । धेरै घर क्षेत्री बाहुनको रहेको बसाहा गाउँमा २०७२ सालको भुकम्पपछि प्रायः सबै घर ढलान भएका छन् । ५० घरधुरीको बसोबास रहेकोे बसाह गाउँमा युवा भेटिदैनन् । गाउँमा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने धारणा बनेपछि युवाहरु रोजगारीका लागि विदेश जाने दर थेगिनसक्नु छ । गाउँका सबै युवाहरु विदेश पलायन भएपछि गाउँमा युवाहरु भेटिनै मुस्किल भएको हो । विदेशिनेहरुले पनि परिवारको सपना अनि आफ्नो भविष्य सम्झेर खाडीका देश र मलेसियामा आफ्नो रगत लत्पतिएको पसिना बेचिरहेका छन् ।

परदेशिनेहरुले परदेशबाट पठाएको पैसाले घरदेशमै बस्नेहरुले नुनदेखि सुनसम्मको खाँचो टारेका छन् तर आजभोली बालबच्चा पढ्न पठाउने अनि घरकै काममा मात्र दिनभर व्यस्त हुने बसाहा गाउँका महिलाहरुको दिनाचर्या फेरिएको छ । निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता कक्षा पछि बसाहा गाउँमा बस्ने महिलाहरु कमाउनका लागि एकजुट बनेका छन् । बसाह वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा २१ हप्तासम्म नियमित छलफल गरेपछि १० जना महिलाहरु मिलेर सामूहिक तरकारी खेती गर्ने योजना बनाए ।
वित्तीय साक्षरता कक्षामा सहभागी भएर घर धान्नको लागि विदेशको मात्रै मुख ताक्नु हुन्न भन्ने थाहा पाएपछि बसाहा गाउँका महिलाहरु आफैले टनेल खेती सुरु गरेको कक्षा व्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङको बताए ।

सामूहिक तरकारी खेतीमा जुटेका सबै महिलाहरुको परिवारका सदस्य वैदेशिक रोजगारीका लागि खाडीका देशमा गएका छन् खाडीमा अरुका देशबाट माटो किनेर ल्याएर त तरकारी फलाएका छन् । हामी आफ्नै माटोमा किन पौरख नगर्ने ? कक्षाकी सहभागी एवं सामूहिक तरकारी खेती गर्ने १ जना महिला सदस्य मानकुमारी नेपालले भनिन् ।
तरकारी खेतीका लागि उनीहरुले १० रोपनी जग्गा लिजमा लिएर सामूहिक रुपमा लगानी गरेका छन् । लगातार २१ हप्तासम्म कक्षामा आएर छलफल गर्ने १० जना सहभागीहरुले २÷२ लाख रुपैयाँ लगानी गरेका छन् । मौसमी तथा बेमौसमी तरकारी फलाउनका लागि उनीहरुले प्लाष्टिकको टनेल बनाएका छन् । उनीहरुले सुरु गरेको काममा थप हौसला दिन कृषि ज्ञान केन्द्रले बेमौसमी तरकारी उत्पादनका लागि १० लाख रुपैयाँ अनुदान दिएको छ ।


कक्षामा नियमित रुपमा सहभागी भएपछि पैसाको महत्व बुझेर स्वदेशमा नै पैसा कमाउने धेरै बाटोहरु देख्यौं । कक्षामा व्यवसायिक योजना बनाउन सिकेको हुँदा आफूहरुलाई व्यवसाय गर्नका लागि उर्जा मिलेको बताउछन् कक्षाका सहभागीहरु । दुरीका हिसाबले काठमाडौँको बजार पनि नजिकै रहेको र स्थानीय तरकारी बजारमा समेत तरकारीको राम्रो माग रहेको बुझेपछि तरकारी खेती व्यवसाय नै रोजेको बताउछि कक्षाका सहभागी रुपा नेपाल ।
गाउँमा चलेको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा आउन थालेपछि रुपैयाँ पैसा अनि घर चलाउन सिकेको बताउने उनीहरुले बल्ल आँखा उघ्रिएको महसुस गरेका छन् । एकतामा बल हुन्छ समूहमा मिलेर काम गर्ने बानी भए आँटेको काम फत्ते गर्न सजिलो हुने र व्यवसायीक जोखिम समेत कम हुने हुँदा सामूहिक तरकारी खेतीका लागि संगठित भएको उनीहरुको भनाइ छ ।

आफूभित्र भएको क्षमताको पहिचान गर्न अनि व्यवसायिक योजना बनाउन नसक्दा आफूहरु पछाडी परेको रहेछौं, जस्तो लाग्छ अहिले उनीहरुलाई । हप्ताको एक दिन २१ हप्तासम्म वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा लिएपछि आफूहरुको सोचाई नै फेरिएको जस्तो लाग्छ रुपालाई । उनी भन्छिन् “कक्षामा आएपछि हाम्रो तेस्रो नेत्र खोलियो, अब हामी महिलाहरु संगठित भइ व्यवसाय गरेर पैसा कमाउन सक्ने भएका छौं । यसरी काम गर्दा हामीलाई आँट त आएको छ नै, श्रीमानको कमाइ सँगसंगै हामी पनि स्वदेशमै स्वरोजगार हुन पायौँ । यसरी आफैं स्वरोजगार बन्न सकियो भने हाम्रो सपना पूरा गर्न परदेशिएकाहरुलाई समेत घरदेशमा नै बोलाउन सकिने रहेछ । विदेशको कमाइ भनेको साउने भेलजस्तै हो । त्यसैले अब विदेश जानेका श्रीमती र आमाहरु पनि संगठित भएर असल अभ्यास गर्न सक्छन् भनेर समाजमा सन्देश दिन पनि हामीले सामूहिक खेती सुरु गरेका हौ ।”

बाँसको भाटा प्रयोग गरी त्यसैमाथि प्लाष्टिक बिछ्याएर बनाइएको टनेलमा अहिले गोलभेडा र धनिया रोपिएको छ । तरकारी रोप्नेदेखि गोड्ने समेतका कामहरुमा आफूहरु नै जुट्ने गरेको बताउछिन् मिनाकुमारी मगर । बेमौसमी तरकारी खेती गर्दा तरकारीको भाउ राम्रो आउने भएकोले टनेल खेतीप्रति आकर्षित भएको बताउछिन् सोविता पन्त । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि कृषि र उत्पादन सम्बन्धी अन्य तालिममा पनि सहभागी भएको र व्यवसाय छनोट र व्यवसायिक योजनाको विषयमा छलफल गर्दा आफूहरुको ठाउँमा पनि टनेल खेती गर्न सकिने भएकोले सामूहिक टनेल खेती गरिएको उनीहरुको भनाइ छ ।
कक्षामा बसेपछि आफूहरुको व्यवसायिक क्षमता समेत बढेकोले दिदीबहिनीहरु मिलेर व्यवसाय गरौँ भनेर सुरु गरिएको मिरा नेपालले बताइन् । स्वदेशमै स्वरोजगार बन्न सकियो भने विदेश जानुपर्ने बाध्यता हट्ने रुपा नेपालको विश्वास छ । २१ हप्तासम्म चलेको कक्षा बन्द भएपनि व्यवसायिक रुपमा संगठित भएर यहीँ समूहलाई नगरपालिकामा दर्ता गर्ने सोच गरेका छन् उनीहरुले ।

निलकण्ठ नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर बिक्रम बस्नेत

प्रतिक्रिया दिनुहोस्