Logo

फेसबुक सञ्चालक संस्था मेटाले माग्यो कागजातको विवरण



काठमाडाैँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण मागेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल मार्फत आवश्यक कागजातबारे सोधेका हुन् ।

ठाकुरका अनुसार, “पौने ५ बजे मेटाका प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता प्रक्रिया पूरा गर्न आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ । हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि आवश्यक कागजातबारे जानकारी इमेलमार्फत पठाएका छौं ।” सरकारले क्रमशः लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । यस निर्णयसँगै सामाजिक सञ्जालमा वातावरण तनावपूर्ण बनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जालमा सेवा रोक लगाउन पत्राचार समेत गरिसकेको छ । यस कदमको उद्देश्य नेपालमा दर्ता नभएका प्लेटफर्मको नियमन सुनिश्चित गर्नु र प्रयोगकर्तालाई कानूनी रूपमा सुरक्षित डिजिटल वातावरण प्रदान गर्नु रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्