रामेछाप-रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्डमा ठुला सवारी आवागमनमा अवरुद्ध भएको छ । शनिवार बिहान भटौली खोलामा आएको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्ने उक्त पुलको खाँडादेवीतर्फ रहेको पिलर पछाडीको भाग बाढीले कटान गरेपछि संरचना जोखिममा परेको हो । बाढीले पिलर कमजोर बनाएपछि पुल अझै जोखिममा परेको स्थानीय केदारकुमार सार्कीको भनाइ छ । गत वर्ष असोजमा पनि यतै चोट लागेको थियो, तर यसपटक बाढीले झनै गम्भीर क्षति पुर्याएको छ,” उनले भने ।
स्थानीयवासीहरूले पुलमा पहिले देखिएको क्षतिप्रति सम्बन्धित निकाय गम्भीर नबनेको कारण अहिले ठुल क्षति हुन पुगेको भन्दै असन्तुष्टि जनाएका छन् । बाढीले पुलमा क्षति पुर्याउदा सडक अवरुद्ध भएपछि ठुला गाडीहरू खाँडादेवीमै रोकिएका छन् ।
गत वर्ष सुनकोशी नदीको बाढीले मन्थली–सिन्धुली सडकखण्डको खुर्कोट पुल बगाएपछि वैकल्पिक रूपमा बेलीब्रिज जडान गरिएको थियो, तर उक्त बेलीबृजको भारवहन क्षमता १५ टनसम्म मात्र भएकाले ठुला गाडीहरु भटौली खोलाको पुल प्रयोग गरी आउने गरेका छन् ।
सिन्धुलीका चालक सिर्जन तामाङका अनुसार, वीरगन्जबाट सुनकोशी–मरिन डाइभर्सन परियोजनाको सामग्री लिएर आएका झन्डै दर्जन गाडी खाँडादेवीमा अलपत्र परेका छन् । “खाली गाडीलाई त खुर्कोटबाट जान दिइन्छ, तर लोड गाडी रोकिन्छन् । अब त यहाँको पुलमा पनि समस्या आएपछि एकै ठाउँमै रोकिनुपर्यो,” उनले भने ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुनका अनुसार, मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । “पहिल्यै केही क्षति थियो, त्यसैबिच बाढी आइहाल्यो, माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले अप्ठ्यारो त छ, तर पाँचवटा मेशिन प्रयोग गरेर काम अघि बढाइएको छ,” उनले उनले भने अबको दुई दिनभित्र पुल सञ्चालनमा ल्याउने तयारीका साथ काम गरिरहेका छौँ ।
झन्डै ४ करोड रुपैयाँको लागतमा स्वीस सरकारको सहयोगमा आर्थिक वर्ष २०७१/०७२ मा स्वच्छन्द सिर्जना जेभीले निर्माण गरेको ४० मिटर लामो यो पक्की पुल रामेछाप जिल्लाका लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिन्छ ।
