रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुकरण कार्यक्रम गरेको छ ।
मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम दिएको हो । उक्त अभिमुखीकरण कार्यक्रमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षक हेमचन्द्र पोख्रेलले प्रारम्भिक बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाहरुको क्षमता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा धेरै कुराहरु सिक्न पाएको बताए । उनले तालिममा सिकेका कुरालाई आगामी दिनमा विद्यालयमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाए । आगामी दिनमा पनि यस्ता तालिम तथा कार्यक्रमको आयोजना गरिनु पर्ने सुझाव राख्दै उनले तालिमको आयोजना गरी सिक्ने अवसरमा प्रदान गरेकोमा सेतो गुराँस र नगरपालिकालाई धन्यवाद समेत दिए ।
भिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै मन्थली नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष गोपाल श्रेष्ठले नगरको शिक्षा सुधारका लागि सबैले इमान्दार प्रयत्न गर्नुपर्ने बताए । बाहिरको व्यक्तिहरुबाट यहाँको शिक्षा सुधार नहुने भन्दै उनले कुण्ठा र पूर्वाग्रहरहित ढङ्गले लाग्नुपर्ने बताए । शिक्षा सुधारका लागि सबै कुराको व्यवस्थापन गर्न आफूहरु तयार रहेको पनि उनले बताए ।
उनले भने, “शिक्षा सुधारका लागि सबैभन्दा पहिले त आफूलाई नै सुधार गर्नपर्छ, मन्थली नगरपालिका, शिक्षा समिति, सामाजिक विकास समितिको तर्फबाट गर्नुपर्ने केही काम छ भने तपाइँहरुले खुलेर भन्नु होला । हाम्रो स्रोत र साधनले भ्याएको सबै काम हामी पुर्याउनेवाला छौँ, पुर्याइरहेका छौँ, जहाँ पुगेको छैन त्यहाँ छिटो पुग्छ ।”
यसैबीच, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारीले बालबालिकाको लागि आएको रकमको दुरुपयोग नगर्न आग्रह गरेका छन् । बालविकास केन्द्रमा अध्ययनरत प्रति बालबालिकाको लागि वार्षिक रुपमा पाँच सय रुपैयाँका दरले आउने रकम प्रअहरुले तोकिएको शीर्षकमा नगरी अन्य शीर्षकमा खर्च गरेको उल्लेख गर्दै उनले तोकिएको शीर्षकमा खर्च नगरे आगामी दिनमा आउने अनुदान रकम नै रोकिदिने चेतावनीसमेत दिए ।
उनले भने, “प्रारम्भिक बालविकासको प्रति विद्यार्थी पाँच सय रुपैयाँका दरले जाने रकम प्राय हेडसरले तोकिएको शीर्षकमा खर्च गर्नु भएको छैन, अर्कै शीर्षकमा खर्च गर्नु भएको छ । योभन्दा अगाडि जे गर्नुभयो अबका दिनमा चाहिँ प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकिए गएको रकम त्यही शीर्षकमा खर्च गर्नु भएन भने यहाँहरुलाई आउने अनुदान रकम सबै रोक्का गर्दिन्छौँ ।”
उनले बालबालिकाको मूल्याङ्कनका लागि नगरबाट तयार पारेर पठाइएको पोर्टफोलियोको समेत प्रयोग नभएको बताउँदै मापदण्डअनुसार विद्यार्थीको मूल्याङ्कन नगर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी पनि दिए । प्रत्येक बालबालिकाको पोर्टफोलियो तयार गर्नका लागि नगरबाट प्रति विद्यार्थी एक सय रुपैयाँका दरले पठाइएको उनले बताए । बालबालिकालाई दिवा खाजाको रुपमा विद्यालयहरुले पत्रु खाना खुवाउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले अबको दिनमा यसलाई रोक्नुपर्ने बताए । आगामी दिनमा स्थानीय उत्पादनबाटै बालबालिकालाई दिवा खाजा खुवाउने व्यवस्था मिलाउन पनि प्रअहरुलाई शाखा प्रमुख अधिकारीले आग्रह गरेका छन्
शिक्षा शाखाका प्रा.स. गोपालबहादुर रोकायले बालविकास केन्द्रको शैक्षिक गुणस्तर सधारका लागि प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रमको कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “नेसनल करिकुलम फ्रेमवर्क र टिचर गाइडलाइनले दिएका गाइडलाइनअनुसार विषयवस्तुमा आधारित रहेर पाठ्यक्रमले निर्दिष्ट गरेका ६ वटा सक्षमतालाई टार्गेट गरी शैक्षिक गतिविधि सञ्चालन गरे मात्रै पनि प्रारम्भिक बालविकासको गुणस्तर सुधार हुन्छ ।”
नेपाल सरकारको प्रतिबद्धतानुसार प्रारम्भिक बालविकास उमेरका सबै बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित शैक्षिक गतिविधि सञ्चालन गर्नको लागि प्राधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्वकर्माले बताए । अभिमुखीकरण तालिममा नगरका सबै विद्यालय तथा बालविकास केन्द्रबाट ६८ जना प्रअ तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण सेतो गुराँस संस्थाको वरिष्ठ तालिम अधिकृत बुद्धिबल थापामगर र जिल्ला परियोजना संयोजक मैया वस्नेतले गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँग सहकार्य चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित इसिडी हार्मोनी परियोजना मार्फत मन्थली नगरपालिकाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो । उक्त तालिम २२ र २३ गते दुई दिन सञ्चालन गरिएको हो ।
