
रामेछाप- नेपाल जातीय छुवाछुत मुक्त राज्य भएपनि व्यवहारमा अझै पनि जातीय छुवाछुत कायमै रहेको दलित समुदायले गुनासो गरेका छन् । अहिले पनि धार्मिक स्थल, सार्वजनिक स्थल र सामाजिक रुपमासमेत आफूहरुमाथि जातीय छुवाछुत हुने गरेको दलित समुदायका व्यक्तिहरुले गुनासो गरेका हुन् । बिहिवार रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आयोजना गरेको “दलितका सवालमा, साझा सवाल” कार्यक्रममा सहभागी दलित समुदायका व्यक्तिहरुले यस्तो गुनासो गरेका हुन् । दलित समुदायको अवस्था, समस्या र चुनौतीका विषयमा दलित समुदाय र स्थानीय सरकारकोबिचमा प्रत्येक्ष संवाद गर्ने उद्देश्यले गाउँपालिको आयोजना तथा गुगल व्यवसायिक कन्सल्टेन्सि प्रा.लि.को सहजीकरणमा सञ्चालन गरिएको दलित सवालमा साझा सवाल कार्यक्रममा दलित समुदायका व्यक्तिहरुले सार्वजनिक स्थलमा समेत जातीय छुवाछुत कायम रहेको बताएका थिए ।
अन्तरजातीय विवाह गरेकी एक महिलाले आफू दलित भएकै कारण सासुबाट आफू घरेलु हिंसामा परेको गुनासो गरिन् । दुई वटा छोराको आमासमेत रहेकी उनलाई अहिले सासु र श्रीमानले समेत कुटपिट गर्ने गरेको बताइन् । उनले भनिन् हालसालै मलाई श्रीमानले मरनासन्न हुनेगरी कुट्नु भयो, उहाँको कुटाइबाट म बेहोस भएछु, धरैबेरपछि होस आएछ, त्यसबेला छोरा मेरो छेउमा बसेर रोइरहेको रहेछ, छोरालाई मलाई के भयो बाबु भनि सोध्दा तपाइलाई बाबाले कुट्नु भयो नि ममी भने । म दलित भएकै कारण मेरो नागरिकता पनि बनाइदिनु भएन्, छोराहरुको जन्म दर्ता पनि भएको छैन उनले भनिन् । मैले प्रहरीको महिला सेलमा उजुरी पनि दिएँ तर त्यहाँबाट पनि मैले न्याय पाइन, दलित भएकै कारण मैले घरभित्रैबाट हिंसा भोगिरहनु परेको छ ।
त्यस्तै लिखु तामाकोसी गाउँपालिका–१ का विनोद विसुङ्खेले वडा नम्बर १ दुरागाउँमा अहिले पनि मन्दिरमा दलितलाई प्रवेश गर्न निषेध गरिदैँ आएको बताए । त्यसैगरी लिखु तामाकोसी गाउँपालिका–५ नागदहका ज्ञानबहादुर दमाईले त्यस वडामा अहिले पनि सार्वजनिक ठाउँमै जातीय छुवाछुत भइरहेको बताए । लिखु तामाकोसी गाउँपालिका–५ नागदहमा रहेको अतिरिक्त हुलाक कार्यालयमा दलितलाई जान निषेध गरिएको उनले बताए । उनकाअनुसार कार्यालय रहेको घरका घरवेटीले दलितलाई हुलाक कार्यालयमा जान निधेष गर्दै आएको छ । वडा नम्बर ६ का नारायण नेपालीले विकास निर्माणमासमेत दलितलाई विभेद गर्दै आएको गुनासो सुनाए । वर्षौदेखि कायम रहिआएको दलितको थर राष्ट्रिय दलित आयोगले सिफारिस गरेको दलित जातिको थरमा सूचिकृत हुन छुटेकाले कयौँ दलितहरुको नागरिकतासमेत नबनेको गुनासो गरेका छन् ।
कार्यक्रमका सहभागिहरुको गुनासो तथा जिज्ञासाहरुको जवाफ दिंदै राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले थर सूचीकृत नहुँदैमा वर्षौदेखि कायम रहिआएको थरबाट नागरिकता नबन्नु दुःखद भएको बताए । थरकै कारण दलितहरुले नागरिकता पाउँनबाट बञ्चित हुनु परेको भन्दै यसमा सरकारको कमजोरी रहेको बताए । यस विषयमा आफूले पहल गर्दै आएको र यस्ता समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग निरन्तर लागिरहेको पनि उनले बताए ।
लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले जातीय छुवाछुतको विषय आफ्नो जानकारीमा नआएको बताउँदै जातीय छुवाछुत भएको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् ।