Logo

माझी समुदायले धुमधामसँग मनाए लदी पर्व



रामेछाप- रामेछापका माझी समुदायले लदी पर्व धुमधामका साथ मनाएका छन् । माझी समुदायको प्रमुख पर्व लदी पूजा माझी समुदायले धुमधामसँग मनाएका हुन् । नदीलाई माझी भाषामा लदी भन्छि । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको साइली मङ्गलवार अर्थात तेस्रो मङ्गलवार लदी पूजा गर्ने गर्दछन् ।

भगवान रामले माझीसँग मित लगाएको किंवदन्ती रहेको र भगवान रामकै पालादेखि लदी अर्थात् नदी पूजा गर्ने गरेको माझी अगुवाहरु बताउँछन् । प्राचीन सभ्यता र संस्कृतिसँग माझी समुदायको नाता कोसीसँग नै जोडिएर आएको उनीहरुको भनाइ छ । नदी र माझीबिच मामा भाञ्जाको नाता रहेको मन्थली नगरपालिका–८ गाइखुराका झिल्क माझीले बताए । माझीहरु नदीमै नुहाउने, लुगाधुने, खेल्न र माछा मार्ने भएकाले नदीले माझीलाई कुनै पनि क्षति नगरोस् भनेर लदी पूर्जा गर्ने परम्पार रहेको उनको भनाइ छ ।


माझीहरु कोसी किनारमा बस्ने र उनीहरुको जीविकोपार्जनको माध्ययम नै कोसी भएकाले माझीहरुलाई कुनै पनि क्षति नगरोस् भनेर लदी पूजा गर्ने गर्दछन् । दैविक प्रकोप नहोस्, नदीले नबगाओस्, र कुनै क्षति नपुर्याओस भनि नदीलाई खुसी पार्न लदी पूर्जा गरिने अर्का स्थानीय ज्ञानबहादुर माझीले बताए । उनकाअनुसार माझी समुदायले नदीलाई १४ कोटी दिर्घामाइको रुपमा पुज्ने गर्दछन् । दिन र रातमा जुनसुकै बेलामा पनि माझी नदीमा जाने भएकाले नदीले नबगाउओस् र राति भूतले नतर्साओस भनि डुङ्गा र माछा मार्ने जाललाई नौसिङ्गेको १/१ वटा अण्डा चढाइने उनले बताए ।

कोसी किनारामा बस्दा देवी देवता नाग नागिनीले पनि केही नगरोस् भनेर नदीलाई खुसी राख्न पूजा गरिने पूजारी सेते माझीले बताए । आफूहरू सँधै कोसीमा काम गर्ने, कोसी वारपार गर्ने र दैनिकी नै कोसीमा बिताउने हुनाले कोसीले केही क्षति नपुर्याओस् भनेर नदी पूजा गरिएको पूजारी सेते माझीलको भनाइ छ । नदी अर्थात लदी आफ्नो मामा भएको र आफूहरू भञ्जाको सम्बन्ध रहेको उनको भनाइ छ ।

सदियौँदेखि नदी किनारमा बस्दै आएका माझी समुदायको अन्य समुदायको भन्दा छुट्टै संस्कार र संस्कृति रहेको छ । अन्य समयमा जति मनमुटाव भएपनि नदी पूजामा भने सबै एकैसाथ भेला भएर पर्व मनाउने गरेको माझी अगुवा बालकृष्ण माझीले बताए । सुनकोसी नदी दिदी र तामाकोसी नदी बहिनी भएको किंवदन्ती रहेको उनको भनाइ छ । सुनकोसी नदीले सुँगुरको भोग खाने र तामाकोसी नदीले पाठीको भोग खाने प्रचलन अनुसार सुनकोसी नदी किनारका माझी समुदायले सुँगुरको र तामाकोसी नदी किनारका माझी समुदायले पाठीको भोग दिएर नदी पूजा गर्ने गरेका छन् । सुनकोसी र तामाकोसी नदी किनारमा उल्लेख्य मात्रामा माझी समुदायको बसोबास रहेको छ । कोसी किनारमा बस्ने माछा मार्ने र डुङ्गा चलाउने माझी समुदायको पुर्खेउली पेशा हो ।

दुई दिनसम्म मनाइने लदी पर्व फागुन महिनाको साइली मङ्गलवार अर्थात तेस्रो मङ्गलवार सुरु भएको बुधवार दिनभर भोज तथा नाँचगान गरी बेलुका समापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्