Logo

रामेछाप जिल्ला पनि लागूऔषध दुर्व्यसनीको जोखिममा



हालका वर्षहरूमा लागूऔषध दुर्व्यसनको समस्या केवल सहरिया क्षेत्रमा मात्र सीमित नरही, ग्रामीण र अर्ध–ग्रामीण जिल्लाहरूमा समेत तीव्र रूपमा फैलिंदै गएको छ । यसै सन्दर्भमा, रामेछाप जिल्ला पनि लागूऔषध दुर्व्यसनीको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापको रिपोर्टले देखाएको छ । युवाहरूको ठूलो हिस्सा अध्ययन र रोजगारीका अवसरको खोजीमा अन्यत्र जान बाध्य हुँदा बाँकी रहेका युवापुस्ता विभिन्न सामाजिक र मनोवैज्ञानिक कारणले लागूऔषधको चङ्गुलमा पर्दै गइरहेका छन् ।

रामेछापजस्ता जिल्लाहरूमा लागूऔषध प्रयोगका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय हो । विद्यालय र क्याम्पसस्तरीय शिक्षण संस्थानहरूमा चेतनामूलक कार्यक्रमको अभाव, अभिभावकीय निगरानीको कमी, प्रहरी प्रशासनको कमजोर निगरानी र सामुदायिक स्तरमा मौनता या लाजको संस्कृतिले यस समस्यालाई अझ जटिल बनाइरहेको छ ।

लागूऔषध दुर्व्यसनले एक व्यक्ति मात्र होइन, पूरै परिवार, समुदाय र अन्ततः राष्ट्रको भविष्य नै जोखिममा पार्छ । रामेछाप जिल्लामा यदि यस समस्यालाई तत्काल सम्बोधन गरिएन भने, युवाशक्ति अपराध, मानसिक रोग र सामाजिक पतनतर्फ अग्रसर हुन सक्छन् । लागूऔषध दुर्व्यसनका कारण शिक्षाबाट वञ्चित हुने, स्वास्थ्य समस्यामा पर्नु तथा आत्महत्या जस्ता दुखद घटनाहरू पनि बढ्न सक्छन् ।

यस समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ । स्थानीय सरकार, प्रहरी प्रशासन, विद्यालयहरू, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थाहरू र सबै नागरिकले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आवश्यक छ । विशेषगरी, विद्यालयस्तरमा नियमित रूपमा लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु, जोखिममा रहेका युवाहरूलाई परामर्श तथा पुनःस्थापना सेवा दिनु, र लागुऔषधको ओसारपसारमा संलग्न समूहमाथि कडा कारबाही गर्नु अत्यावश्यक छ ।

रामेछाप जिल्लालाई लागूऔषध दुर्व्यसनमुक्त बनाउनका लागि आजैबाट कदम चाल्नुपर्छ । समस्या देखिएपछि मात्र होइन, समस्या देखिनुअघि नै सचेत भइ कदम चाल्नु नै दीर्घकालीन समाधानको आधार बन्न सक्छ । समयमै सचेत भएर काम गरिएमा रामेछापलाई सुरक्षित, स्वस्थ र लागूऔषध दुर्व्यसन मुक्त जिल्ला बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्