माधवप्रसा उपाध्याय
२९ असोज, रामेछाप– लामो समयदेखि अफिसले तलब नदिएपछि जिल्ला प्राविधिक कार्यालय रामेछापका कर्मचारी कृष्णप्रसाद पौडेल र उनका साथी श्याम पौडेलले यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तयारीमा छन् ।
आपूmले काम गर्ने कार्यालयले लामो समयदेखि तलब खुवाउन नसकेपछि उनीहरुले दूध खानको लागि आफ्नो गोठमा पालेको भैंसी बिक्री गरेर दशै मनाउने निष्कर्षमा पुगेका हन् ।
कार्यालय प्रमुखसहित ६ जनाको दरबन्दी रहेको प्राविधिक कार्यालयमा ४ जना सरुवा भएर गएकाले अहिले त्यस कार्यालयमा कार्यालय प्रमुख र २ जना कर्मचारी मात्र रहेका छन् ।
तीन जनामध्ये २ जना कर्मचारीले भने गत साउनदेखि नै तलब खान नपाएकोले दशैको मुखमा आएर आफुहरुलाई समस्या परेको बताए ।
दसैंमा लाग्ने खर्च र सामानको मूल्यवृद्धि लगायतका कारणले दशैं मान्नका लागि आफूले भैंसी बेच्नका लागि ग्राहक बोलाइसकेको पनि कृष्ण पौडेलले बताए ।
तर त्यस कार्यालयका कार्यालय प्रमुख कृष्ण लाल पिया आफूले भने तलब खाइसकेका छन् । जिल्लाको प्राविधिक कार्यालय मात्र होइन डिभिजन खानेपानी कार्यालय र डिभिजन सिंचाई कार्यालय लगायतका कर्मचारीहरुले पनि गयको साउनदेखि तलब खान नपाएको गुनासो गरेका छन् ।
डिभिजन खानेपानी कार्यालयका प्राविधिक महेन्द्र प्रधानले पनि आफूहरु अन्यायमा परेको बताए ।उनले भने, ‘दशैको मुखमा आएर कार्यालयले हामीलाई तलब खान नदिएर दसैं मान्नकै लागि पनि समस्या पारेको छ ।
संघीयता लागू भएसँगै सरकारले कार्यालय र कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय कार्यालयका कर्मचारीहरुलाई दसैंको मुखमा आएर तलब खान र दरबन्दी मिलानमा समेत समस्या परेको सरोकारवालाहरुले बताएका छन् ।