रामेछाप– रामेछाप नगरपालिका–३ साँघुटारको कालिका इश्वरी आधारभूत विद्यालयमा आफन्तलाई जागिर खुवाउन विद्यालय प्रशासन, विषय विज्ञ र नगरपालिकाको शिक्षा शाखाको कर्मचारीको मिलेमतो भएको सार्वजनिक भएको छ ।
नगरपालिका भित्रका विद्यालयहरुमा शिक्षक छनौटको विषयलाई लिएर विवादमा पर्दै आएको रामेछाप नगरपालिका फेरि विवादमा मुछिएको हो । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयमा शिक्षक छनौटको परीक्षा लिन विज्ञ तोक्ने क्रममा विषय विज्ञ, नगरपालिकको कर्मचारी र विद्यालय बीचमा मिलेमतो भएको सार्वजनिक भएको हो ।
रामेछाप नगरपालिकामा सूचिकृत भएका आधारभूत विद्यालय तहका ६ जना विषय विज्ञहरु मध्य आपूm अनुकुलका विषय विज्ञ छनौट गरि आफन्तलाई जागिर खुवाउने नियतले मिलेमतो भएको खुलेको हो ।
विषय विज्ञ गोलापर्थाबाट छानिएको थियो । गोलापर्थामा ६ जनाको नाम लेखिनुपर्नेमा ६ वटै गोलामा एक जनामात्र विज्ञको नाम लेखिएको थियो । विषय विज्ञ तोक्दा गोलापर्थाबाट विद्यालय ब्यवस्थाप समितिको अध्यक्षले गोला टिप्ने र जुन विज्ञको नाम पर्छ उसैलाई विज्ञ तोक्ने भनिएको थियो ।
योग्य शिक्षक भन्दा पनि आफन्तलाई जागिर खुवाउनको लागि नगरपालिकामा चलखेल भएको चाल पाएपछि त्यसको बारेमा नगरपालिका र नगरपालिकाको शिक्षा शाखामा समेत जानकारी गराउदा पनि सेटिङमा काम भएपछि गलत नियतले भएको कामको सार्वजनिक गरिएको रामेछाप नगरपालिका वडा नं. ३ का अध्यक्ष भुपालराज श्रेष्ठले बताए ।
विषय विज्ञ छान्ने क्रममा दुई थरीको गोला बनाइएको थियो । एकथरीमा ६ जना विज्ञहरुको नाम लेखिएको र एकथरीमा विज्ञ छनौट गर्न खोजिएका निम बहादुर श्रेष्ठको ६ वटै गोलामा एउटै ब्यक्तिको नाम लेखिएको गोलापर्था छनौटमा राखिएपछि आपूmले सो हर्कतको सार्वजनिक गरेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
शिक्षक मात्रै हैन नगरपालिकाको कर्मचारी छनौटमा समेत विवादमा पर्दै आएको रामेछाप नगरपालिकाले यस अघि पनि विभिन्न विद्यालयहरुमा आफन्तलाई जागिर खुवाउन सेटिङमा शिक्षक छनौट गरेको वडा नं. ६ का अध्यक्ष धनबहादुर खड्काले बताए । यस्तो कार्य एकजना कर्मचारीको आँटले मात्र सम्भव नहुने भन्दै यसमा नगरपालिकाको जनप्रतिनिधिको समेत संम्लग्नता हुनसक्ने अध्यक्ष खड्काले आशंका ब्यक्त गरे ।
यस्ता घटना पटक–पटक दोहोरिएको भन्दै षड्यन्त्र गर्ने ब्यक्तिको नाम सार्वजनिक गर्नु पर्ने वडा नं. ५ का अध्यक्ष भिमबहादुर तामाङले माग गरे । सेटिङमा काम गर्ने र गराउने ब्यक्तिको नाम सार्वजनिक गरि कारबाही गर्नुपर्ने वडा अध्यक्ष तामाङको भनाई छ । अध्यक्ष तामाङले सेटिङ गर्नुलाई नाङगो नाँच भएको बताए ।
रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले कर्मचारीबाट दुखद दुर्घटना भएको भन्दै तत्काल छानविन गरि दोषीमाथि कारबाही गर्ने बताएका छन् । नगरपालिकाको नेतृत्वलाई असफल बनाउन कर्मचारीले यस्तो हर्कत गरेको हुन सक्ने भन्दै मिलेमतो गर्ने कर्मचारीमाथि कारबाही हुने प्रमुख थापा मगरले बताए ।