१९ वैशाख, रामेछाप– सुनापति गाउँपालिकाले स्थानीयलाई उत्पादनमा लाग्न आब्हान गरेको छ । रोजगारीको सिलसिलामा शहरमा रहेका स्थानीयबासी गाउँ फर्किएपछि उनीहरुलाई सामाजिक दुरी कायम गर्दै उत्पादनमा लाग्न गाउँपालिकाले आब्हान गरेको हो ।
सामाजिक दुरी कायम गर्दै, एक परिवारका मानिसले अर्को परिवारसँग भेटघाट नगरि खेती तथा पशुपालन ब्यवसायमा लाग्न गाउँपालिकाले स्थानीयबासीलाई अनुरोध गरेको छ । सुनापति गाउँपालिकाको कार्यपालिका बैठकले स्थानीयलाई उत्पादनमा लाग्न आब्हान गर्ने निर्णय नै गरेको छ ।
गाउँपालिकाभित्र हुनेखाने भन्दा हुदा खाने मानिस धेरै भएकाले कोरोना भाइरसको कारण आगामी दिनमा आउनसक्ने खाद्यन्न अभावलाई ध्यानमा राखेर स्थानीयलाई उत्पादनमा लाग्न आब्हान गरिएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।
स्थानीय कृषकद्धारा उत्पादीत बस्तु बिक्री नभएमा गाउँपालिकाले नै खरिद गरिदिने र बजारमा पु¥याएर बिक्री गर्ने जिम्मा पनि गाउँपालिकाले लिने अध्यक्ष लामाको भनाई छ ।
सुनापति गाउँपालिकाले विपन्न तथा गरिब परिवारका मानिसहरुलाई राहतको सट्टा सहकारी तथा दर्ता भएका स्थानीय पसलहरु मार्फत धान, मकै, कोदो लगायतका अन्न सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ । सहकारी मार्फत अन्न खरिद गरि स्थानीयलाई पायक पर्ने पसलहरुबाट बिक्री गरिने गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।
गाउँका मानिसहरु आ–आफै खाद्यन्न किन्न हिड्दा भिडभाडा बढ्ने र सामाजिक दुरी कायम नहुने हुँदा कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले सहकारी मार्फत अन्न खरिद गर्ने ब्यवस्था गरेको हो ।
गाउँपालिका बासीलाई होम क्वारेन्टाइनमा बसीदिन र छीमेकी तथा बाहिरको मानिसहरुसँग भेटघाट नगर्न पनि गाउँपालिकाले अपिल गरेको छ । गाउँपालिकाको बेथान स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन बेडलाई ब्यवस्थित गर्न भेन्टिलेटर खरिद गर्ने निर्णय पनि गाउँपालिकाले गरेको अध्यक्ष लामाले बताए ।
स्वाथ्य चौकीलाई अस्पतालमा विकास गर्ने उद्देश्यले आवश्यक सामानहरु खरिद गर्न लागिएको अध्यक्ष लामाको भनाई छ । साथै कार्यपालिका बैठकले कोरोना भाइरस रोकथामको लागि गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ ।